मुनामदनको ब्रेकअप


दीपेन्द्र लामाको निर्देशनमा नयाँ फिल्म मुनामदनको ब्रेकअप निर्माण हुने भएको छ।सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहने फिल्ममा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन्। कटवालले पछिल्लोपटक फिल्म नरसिंहा अवतारमा अभिनय गरेका थिए। ‘फिल्मको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौँ, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ’ निर्देशक लामा भन्छन्। पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म गोपीपछि फेरि सहकार्य हुन लागेको हो।

डेब्यु निर्देशकीय फिल्म घामपानीदेखि दुखी आत्मासम्म आधा दर्जन फिल्म निर्देशन गरिसकेका लामाले मुनामदनको ब्रेकअप एक मनोरञ्जक फिल्म बन्ने बताए। लेखक तिमल्सेनाले फिल्ममा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने बताए। ‘पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै आएकाभन्दा भिन्न स्वभावका प्रेमकथा यसमा प्रस्तुत गरिनेछ’ तिमल्सेनाले भन्छन् ‘अहिले दर्शकलाई हलसम्म तान्न धेरै नै मुश्किल छ, त्यसकारण पटकथामा सक्दो मिहिनेत गर्नेछौंँ।’ अभिनेता कटवालले मुनामदनको ब्रेकअपलाई लिएर आफू निकै उत्साही भएको बताए। कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा फिल्मको छायांकन गरिने बताए।