काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त हुनुभएपछि रेक्टर प्राडा खड्ग केसी र रजिस्टार प्राडा केदार रिजाल बाहिरिनु परेको छ ।
दुई विद्यार्थी संगठनले प्रवेशमा रोक लगाएपछि रेक्टर र रजिस्टार बाहिरिनु परेको हो । यसअघि कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा अड्डा जमाएका दुई पदाधिकारीले आफ्नो कार्यकक्ष प्रवेश गर्न पाएका छैनन् ।
तीन महिने उपकुलपतिको जिम्मा लिएपछि गत जेठ १४ बाट कार्यालय प्रवेश नपाएका दुई पदाधिकारी कहिले कार्यकक्षमा पुग्छन भन्ने विषय अन्योल छ । स्रोतका अनुसार दुई विद्यार्थी संगठन र केही प्राध्यापक संघ संगठनले समेत रेक्टर र रजिस्टार प्रवेशमा रोक लगाउन खेलिरहेका छन् । यसैबीच अघिल्ला उपकुलपति प्राडा केशरजंग बरालको कार्यकालमा नियुक्ति भएका दुई पदाधिकारीलाई तत्काल बिदा दिनुपर्ने माग अघि बढेको छ ।
स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘नयाँ प्रक्रियाबाट उपकुलपति चयन हुनुभएका उपकुलपति प्राडा अर्याललाई दुई पदाधिकारी छनौट गर्ने अधिकार हुन्छ । उहाँले नै दुई पदाधिकारी नियुक्ति गर्नुपर्ने अवस्थामा तत्काल दुई पदाधिकारी हटाउनुको विकल्प छैन ।’
स्रोतका अनुसार दुई पदाधिकारी हटाउने पक्षमा सबै एक भइसकेका छन् । त्रिवि कर्मचारीले पनि समस्या बल्झाउनुभन्दा पनि बिदा हुनु उपयुक्त हुने सुझाव दिने तयारीमा छन् । स्रोतका अनुसार उपकुलपतिलाई स्वागत गरेकै दिन विद्यार्थी संघ संगठनले पद छाड्न दबाब दिएका छन् ।











प्रतिक्रिया