विमानस्थल कि बिदाइ स्थल ?

24.82k
Shares

काठमाडौं ।

त्रिभुवन विमानस्थलमा एकजना आफन्त वा यात्रु बिदा गर्न २७ जनासम्मको भिड लाग्ने गरेको छ । विमानस्थल कार्यालय परिसरमा एकजना बिदा गर्न यतिका धेरै आफन्त आउँदा प्रहरीलाई नियन्त्रण गर्न हम्मेहम्मे पर्ने गरेको छ । भिजिट भिसा प्रकरणपछि सुधारमा लागेको विमानस्थल कार्यालयलाई यो विषय चुनौती बनेको छ ।

विमानस्थल बिदाइ स्थल भिड नियन्त्रण गर्न गाह्रो परेको विमानस्थल कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालाले बताउनुभयो । उहाँले यो विषयमा धेरैले प्रश्न उठाउने गरेको जिकिर गर्दैै भन्नुभयो– ‘हामीले यस विषयमा सरोकारवाला निकायसँग छलफल जारी राखेका छांै, विमानस्थल कार्यालयले गरेर मात्र गरेर हुँदैन, नागरिक उड्ययन प्राधिकरण र मन्त्रालयको पनि महत्वपूर्ण भूमिका रहन्छ ।

कार्यालय प्रमुख कोइरालाले बिदाइको लागि सीमित आफन्तमात्र ल्याउन दिने विषयमा सरोकारवाला निकायसँग कुराकानी भइरहेको जानकारी दिनुभयो । स्रोतका अनुसार भिजिट भिसा प्रकरण दोहोरिन नदिन विमानस्थल कार्यालयले भिडभाड कम गर्ने तयारी गरिरहेको छ । ‘सेटिङ र संकेत नियन्त्रण गर्न विमानस्थलबाट बाहिरीने यात्रुलाई खादा, मालालगायत सजावटी वस्तु प्रयोग गर्न निषेध गरिसकेको जानकारी दिँदै कार्यालय प्रमुख कोइरालाले भन्नुभयो– ‘खादा र माला निषेध गरेलगत्तै विमानस्थमा खादा र माला शून्य हुन थालेको छ ।’ एकाध व्यक्तिले लगाएका खादा, माला र टोलीलगायतका पहिरन विमानस्थल प्रहरीले आग्रह गरेर फुकाल्न लगाउने गरिएको जानकारी दिँदै कार्यालय प्रमुख सहसचिव कोइरालाले भन्नुभयो– ‘१५ दिनसम्म बानी पार्न आग्रह गर्ने र १५ दिनपछि पूर्ण रूपमा निषेध गर्ने योजना बनाएका छौं ।’

विमानस्थल कार्यालयले ३ दिनअघि २ बुँदे सार्वजनिक सूचना जारी गरी अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज सञ्चालनका लागि नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई खादा, मालालगायत सजावटी वस्तु प्रयोग नगर्न निर्देशन दिएको हो । विमानस्थल कार्यालयले ईपीएस कोटाबाट कोरिया जानेबाहेक अन्य सबैलाई कुनै पनि संकेतजन्य पोशाक र खादा लगाउन पूर्ण रोक लगाएको छ । ईपीएस कोटामा कोरिया जाने नेपालीलाई भने कोरिया सरकारले अनिवार्य रूपमा संकेतजन्य टिसर्ट लगाउन दिएको छ ।

विमानस्थल संवेदनशील र सुरक्षात्मक क्षेत्र भएकाले कुनै पनि प्रकारको अनावश्यक, अस्वाभाविक गतिविधि वा पहिरन वा पहिचान वा खास संकेत खुल्ने आभूषण वा सोहीसँग जोडिएका सामग्री खादा, माला, चस्मा, फरक किसिमको टोपी निषेध गरिएको हो ।

व्यक्तिले मात्र होइन, विशेष संकेत झल्किने पहिरन वा पहिचान झल्कने टोपी वा अन्य वस्तुहरू कुनै विशेष समूह, संगठन, वा ट्राभल एजेन्सी, म्यानपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याज, वा अन्य कुनै पनि पहिचानजन्य वस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न पाइने छैन । वर्जित गरिएको पोशाक, खादा वा टोपी लगाएर विमानस्थलभित्र प्रवेश गरी नियमको उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने विमानस्थल कार्यालयले जनाएको छ ।

यसै गरी विमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्ने विशिष्ट एवं अति विशिष्ट पाहुनाका लागि छुट्टै भीआईपी र भीभीआईपी डेस्कको व्यवस्था गरिएको छ । उक्त डेस्क प्रयोग गरी आगमन र प्रस्थान गर्नुहुने महानुभावहरू (अध्यागमन प्रक्रियामा बायोमेट्रिक्स लिन नपर्ने गरी कुनै ऐन, कानुनमा उल्लेख भएकाबाहेक) ले अनिवार्य रूपमा अध्यागमन प्रक्रियामा भीईपी वा भीभीआईपी डेक्समा आफैं उपस्थित भई फोटोसमेत खिचाई सहयोग गरिदिन अनुरोध गरिएको छ । राजपत्रमा उल्खेखित व्यक्तित्वहरूले मात्र उक्त डेस्कको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।