प्रथम सेवा विन्दुु हटाइँदा सेवाग्राही अन्योलमा

4.61k
Shares

सरकारको स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौं ।

स्वास्थ्य बिमा बोर्डले ‘प्रथम सेवा विन्दु’का रूपमा धुलिखेल अस्पताललगायतका थुपै्र अस्पताललाई हटाउने निर्णय गरेसँगै सेवाग्राहीमा अन्योल र तनाबको स्थिति सिर्जना भएको छ । साउन १ गतेदेखि लागू हुने निर्णयअनुसार अब बिमितहरूले उपचार गर्नुअघि नजिकको सरकारी स्वास्थ्य संस्थाबाट रेफरल अनिवार्य रूपमा ल्याउनुपर्नेछ ।

यो सूचना पाएपछि एक सातादेखि धुलिखेल अस्पतालमा सबै ओपीडी, फार्मेसी, औषधि सिफारिसमा खचाखच बिरामीको भीड बढेको छ । अस्पतालमा पुगेका अधिकांश बिरामी भन्छन्– ‘सरकारले बिमा सेवा सर्वसुलभ रूपमा दिन नसक्ने भए किन लागु गरेको ? बिहान ७ बजे औषधि लिनका लागि अस्पताल पुगेको बिमाको सफ्टवेयर नचलेर ४ बजेसम्म औषधिको पालो आएन । सरकारले हामीलाई झुक्यायो ।’ बिमा बोर्डले नै सफ्टवेयर नचल्ने र कुनैकुनै बेला चले पनि ५ मिनेटमा एउटा फाइल हेर्न सक्ने गतिमा छोडेको धुलिखेल असपतालका नाम दर्ता, फार्मेसीमा कार्यरत कर्मचारीहरू बताउँछन् ।

एक सातादेखि यस्तै समस्या भएको छ । बिरामीको चाप थामिनसक्दो छ । सरकारले आम सर्वसाधारण नागरिकलाई स्वास्थ्य बिमा ललिपपका रूपमा देखाएर अन्त्यमा निराश बनाउँदै छ । डिउटीमा खटिएका कर्मचारीहरू असिन पसिन गर्दै सफ्टवेयर चलेन भनेर फोन गर्दै, दौडधुप गरिरहेका छन् । बिरामीहरू लाइनमा बस्दा बस्दा थाकेर लखतरान भइसकेका छन् । कति बिरामी त एक सातादेखि धुलिखेलको होटल, लजमा बसेर जसरी भए पनि असार मसान्तसम्म चेक जाँच गराई औषधि लिएर घर फर्कने भन्दै कुरिरहेका छन् ।

धुलिखेल सामुदायिक अस्पतालले गत वर्षमात्र ३ लाख ७० हजारभन्दा बढी बिरामीलाई सेवा दिएको र त्यसबापत बिमा बोर्डबाट ६९ करोड रुपियाँ भुक्तानी पाउन बाँकी रहेको अस्पतालका प्रशासकीय निर्देशक डा. बलराम मल्ल बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘पैसा नपाए पनि हामीले सेवा रोकेका छैनौं तर अब सरकारको निर्णयअनुसार हामी प्रथम सेवा विन्दुुका रूपमा सेवा दिन सक्दैनौं ।’

नयाँ निर्णयअनुसार काभ्रे जिल्लाका बिमितलाई मेथिनकोट अस्पताल, पनौती, खोपासी, सुन्थान वा धुलिखेल स्वास्थ्य केन्द्रबाट रेफरल सिट लिएरमात्र धुलिखेल अस्पतालमा सेवा लिन पाइनेछ । बनेपा, तेमाल, रोशी, पाँचखाललगायत जनघनत्व बढी भएको बस्ती र दुर्गम क्षेत्रका नागरिकले भने यी केन्द्र टाढा र अपायक भएको गुनासो गरिरहेका छन् ।

अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार क्यान्सर, डायलाइसिस, मानसिक रोग, अपाङ्गता, गर्भवतीलगायत दीर्घरोगीहरूले एकपटक रेफरल लिएपछि बारम्बार ल्याउनुनपर्ने व्यवस्था गरेको छ । सेवाग्राहीले स्वास्थ्य बिमा बोर्डसँग धुलिखेल अस्पताललाई पुनः ‘प्रथम सेवा विन्दु’मा राख्न आग्रह गरेका छन् । सुविधा सम्पन्न, चिकित्सक, उपकरणलगायत बिरामीका लागि काभ्रे मात्र नभई, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, भक्तपुरका बिरामीलाई पायक पर्ने र सहुलियत दरमा उपचार हुने अस्पतालले स्वास्थ्य बिमाको सेवा लिँदै आएका थिए । अब निरन्तर सेवा पाएका बिरामी अन्योल र असहज स्थितिमा परेका छन् ।

स्वास्थ्य बिमा बोर्डले आगामी श्रावण १ गतेदेखि रेफरल (विशेषज्ञ) अस्पतालहरूमा ‘प्रथम सेवा विन्दु’ तोक्न नपाइने निर्णय गरेको छ । हालसम्म वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), धुलिखेल अस्पताल, गण्डकी मेडिकल कलेज (पोखरा), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ), जीपी कोइराला श्वासप्रश्वास केन्द्र (तनहुँ)लगायतका ठूला अस्पतालमा पनि बिमितले पहिलो स्वास्थ्य सेवा लिने व्यवस्था रहेको थियो । यसका साथै नेपालकै पुरानो र आम नागरिकको पहँुच योग्य वीर अस्पतालमा २ हजारभन्दा बढी परिवार प्रथम सेवा विन्दुका रूपमा दर्ता थिए ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार ठूला अस्पतालहरूमा सामान्य उपचार थालियो भने जटिल केसका बिरामीहरूले सेवाबाट वञ्चित हुन सक्छन् । उहाँले भन्नुभयो– ‘त्यसैले हामीले पहिलो सेवा विन्दु र रेफरल केन्द्रबीचको भूमिका स्पष्ट रूपमा छुट्याउने निर्णय गरेका हौं ।’

बिना पूर्वतयारी गरिएको बिमाको बदलिँदो स्वरूपको विरोधमा धरान, दाङ, पोखरा र तनहुँका नागरिक सडकमै उत्रिए । बोर्डको निर्णयपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिले सेवा लिइरहेका स्थानीयले विरोध जनाएका छन् । उनीहरूले बोर्डको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनसमेत गरेका छन् । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि स्थानीयवासी आन्दोलित भएका छन् । उनीहरूले आफूहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नजिकको अस्पतालबाट यस्तो सेवा हटाइनु अन्यायपूर्ण भएको बताएका छन् ।

यस्तै, पोखरा र तनहुँमा पनि विरोध भएको छ ।बिमा बोर्डले भने यस्तो असन्तुष्टिलाई व्यवस्थापन गर्न सूचना र समन्वयलाई प्राथमिकता दिइरहेको जनाएको छ । बिमा बोर्डका अध्यक्ष थापाका अनुसार यस्तो सुधारात्मक कदमले शुरूमै केही असन्तुष्टि ल्याउन सक्छ, तर दीर्घकालीन हिसाबले यसले सबै बिमितको उपचार सेवा अझ प्रभावकारी बनाउने दाबी गरेको छ । स्वास्थ्य बिमा प्रणालीअन्तर्गत साधारण स्वास्थ्य समस्या र प्रारम्भिक जाँच प्रथम सेवा विन्दुबाट गरिनुपर्ने मान्यता अनुसार अब जटिल र विशेषज्ञ सेवा आवश्यक परेमात्र बिरामीलाई रेफरल अस्पतालमा पठाउने प्रावधान लागू गरिएको जनाएको छ ।