ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या १३ लाख ७७ हजार पुग्यो

1.6k
Shares

–२५ हजार दुर्घटनामा २ हजारको मृत्यु
–४० हजार बढी घाइते
–प्रहरीको प्रयासमाथि प्रश्नचिह्न

काठमाडौं ।

देशभर सवारीसाधनको चापसँगै ट्राफिक नियम उल्लंघन गर्नेहरूको संख्या पनि डरलाग्दो गतिमा बढिरहेको छ । आर्थिक वर्ष २०८१\८२ मा मात्रै १३ लाख ७७ हजार ७ सय ६९ जना सवारी चालक ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा प्रहरी कारबाहीमा परेका छन् । यो संख्या अघिल्ला वर्षहरूको तुलनामा निकै उच्च हो, जसले सडक सुरक्षाको गम्भीर अवस्था झल्काउँछ ।

नेपाल प्रहरीले सीमित जनशक्ति, उपकरण र बजेटको अभावका बाबजुद पनि सवारी नियन्त्रण तथा ट्राफिक नियम कार्यान्वयनलाई तीव्र बनाएको छ । तर, कारबाहीमा परेकामध्ये ८३ हजार ३ सय २३ जनाले अझैसम्म अनिवार्य ट्राफिक सचेतना कक्षा लिएका छैनन्, जसले प्रहरीको प्रयासमाथि प्रश्नचिह्न खडा गरेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार गत वर्ष देशभर २५ हजार ७ सय ७१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २ हजार २ सय ८९ जनाले ज्यान गुमाएका छन् भने ४० हजार १ सय ३७ जना घाइते भएका छन्, जसमा कयौंको स्थायी अंगभंग भएको छ । दैनिक हिसाबले हेर्दा नेपालमा औसतमा ७ जनाको मृत्यु र १ सय १० जना घाइते हुने अवस्था कायम छ । जुन आँकडाले सडक दुर्घटना एक गम्भीर सार्वजनिक स्वास्थ्य संकटको रूपमा विकास भइरहेको संकेत गर्छ ।

ट्राफिक प्रहरीका अनुसार, सवारी नियम उल्लंघन गर्ने मुख्य कारणहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन नमान्ने, मोबाइल फोन प्रयोग गर्ने, रातो बत्तीमा बाटो काट्ने तथा ओभरस्पिडजस्ता व्यवहार सामेल छन् । यसमध्ये मापसे (मदिरा सेवन) एक्लैले झन्डै २५ प्रतिशत उल्लंघन भएको तथ्य प्रहरी स्रोतले उपलब्ध गराएको छ ।

गृहमन्त्रीको चेतावनी र सुझाव

‘अनलाइन ट्राफिक सचेतना कक्षा’ एप सार्वजनिक गर्दै गृहमन्त्री रमेश लेखकले डिजिटल प्रविधिको दुरुपयोग नहोस् भन्नेतर्फ प्रहरी नेतृत्वलाई सचेत गराउनुभएको छ । उहाँले भन्नुभयो– ‘यो प्रविधि सहजता ल्याउने माध्यम हो, तर कार्यान्वयनमा सतर्कता अपनाउनु जरुरी छ ।’ उहाँले जनशक्ति र बजेट अभावका कारण देशका धेरै ठाउँमा प्रहरी चौकी स्थापना गर्न नसकिएको स्वीकार्दै प्रविधिको सहायताले ट्राफिक व्यवस्थापनलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजनामा यो प्रयास एउटा कोसेढुंगा भएको बताउनुभयो । उहाँका अनुसार, प्रहरी संगठनले डिजिटल ट्राफिक प्रणाली, सीसीटीभी निगरानी, मोबाइल ट्राफिक प्रयोगजस्ता कामलाई प्राथमिकतामा राखेको छ । प्रविधिको सहयोगमा ट्राफिक उल्लंघन नियन्त्रणमात्र होइन, दुर्घटनापछि उद्धार, उपचार तथा अनुसन्धानसमेत प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

सवारी चालकहरूको बढ्दो लापरबाही, जनसंख्याको चाप, अपुग पूर्वाधार र कमजोर कार्यान्वयनका कारण नेपालको सडक सुरक्षा संकटपूर्ण अवस्थामा पुगेको छ । तर, डिजिटल माध्यमबाट ट्राफिक सचेतना कक्षा सञ्चालनको सुरुवातले आशा जगाएको छ ।

यदि यो प्रणाली इमानदार कार्यान्वयन र समयसापेक्ष सुधारसहित अघि बढाइयो भने यसले सवारी दुर्घटना न्यूनीकरणमा सार्थक भूमिका खेल्न सक्छ ।

‘चिट’ काटिएका ८३ हजार अझै कक्षा बाहिर

मापसे, लेन उल्लंघन, सिट बेल्ट नलगाउनेजस्ता कसूरमा ट्राफिक प्रहरीले ‘चिट’ काटेका चालकहरूलाई अनिवार्य सचेतना कक्षामा सहभागी हुनुपर्ने व्यवस्था छ । तर, अहिलेसम्म ८३ हजारभन्दा बढी चालकले त्यो कक्षा लिएका छैनन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहका अनुसार, यीमध्ये धेरैजसो चालक कक्षा लिन जान लाज मान्ने, समय नमिल्ने वा जानकारी नभएको जस्ता कारण देखाउँदै आएको पाइएको छ ।

सडक सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने यस्ता चुनौतीको समाधानको प्रयासस्वरूप नेपाल प्रहरीले हालै ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुरू गरेको छ । प्रहरी प्रधान कार्यालयले ज्ञान बजार प्रालिसँगको सहकार्यमा विकास गरिएको उक्त एप्लिकेसन आइतबारदेखि औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

यस प्रविधिमार्फत् सवारी चालकहरूले अब अनलाइनमै सचेतना कक्षा लिन सक्नेछन् । यसले कामकाजी व्यक्तिहरू, दुर्गम क्षेत्रका चालकहरू तथा लाजका कारण सहभागी हुन नसकेकाहरूका लागि सहजता ल्याउने विश्वास गरिएको छ ।