घुस लेनदेन गरिएको भनिएको अडियो फरेन्सिक ल्याबमा


–अख्तियारले थाल्यो छानबिन
–अडियो नक्कली भएको मन्त्री गुप्ताको दाबी

काठमाडौं ।

कर्मचारी सरुवा तथा नियुक्ति प्रकरणमा ७८ लाख रुपियाँ लेनदेन गरेको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग उठेको छ ।मन्त्री गुप्ता सामान्य प्रशासन मन्त्री भएर आएदेखि नै उहाँको सचिवालयले कर्मचारी सरुवामा लाखौं रुपियाँको मोलमोलाई गर्ने गरेको आरोप लाग्दै आएको थियो । मन्त्री गुप्ताको सो अडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको रूपमा पुगेपछि अख्तियारले मन्त्री गुप्तामाथि छानबिन थालेको छ ।

अख्तियारका एक अधिकारीका अनुसार मन्त्री गुप्तामाथि छानबिन थालिएको छ भने मन्त्रीले लेनदेन गरेको भनिएको अडियोलाई छानबिनका लागि फरेन्सिक ल्याबमा पठाइएको छ । अख्तियारका ती अधिकारीले नेपालसमाचारपत्रसँग भने– ‘अडियोको फरेन्सिक रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाइने छ । ’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले भने सो अडियोमा बोलिएको आवाज आफ्नो नभएको दाबी गर्नुभएको छ । उहाँले आफूलाई फसाउने षड्यन्त्रका साथ नक्कली अडियो ल्याइएको र त्यसको वास्तविकता पत्ता लगाउन आफैंले अख्तियारलाई अनुरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ममाथि अख्तियारले छानबिन गरेर सत्यतथ्य छिटो बाहिर ल्याइदेओस् भन्ने चाहना मेरै हो, यो सबै षड्यन्त्रको भण्डाफोर हुनै पर्छ ।’

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपियाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो । तर, सो अडियोको वास्तविकता भने पत्ता लाग्न सकेको छैन ।

यो विषयमा आइतबार संसद्मा पनि प्रश्न उठेको छ । सांसदहरूले घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गरेका छन् भने मन्त्री गुप्ताले अडियोको सत्यता पुष्टि गर्न चुनौती दिनुभएको छ ।