स्वार्थ समूहको दबाबले शिक्षा विधेयक गिजोलियो

4.61k
Shares

काठमाडौं ।

विद्यालय शिक्षा विधेयक समयमै पारित हुन नसक्दा शिक्षा क्षेत्र अन्योलमा परेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ असारसम्म सरकारलाई शिक्षक महासंघसँग सहमति गर्न ५ दिनको समय दिएको थियो । तर, निर्धारित समय सकिए पनि सहमति जुट्न नसक्दा समितिको बैठकसमेत बस्न सकेको छैन ।

शिक्षामन्त्री रघुजी पन्तले ३२ असारसम्म समय मागेका कारण बैठक राख्न नसकिएको सभापति अम्मरबहादुर थापाले बताए । समितिभित्र विधेयक पारित गर्ने तयारी भए पनि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको फरक प्रस्ताव र स्वार्थ समूहको चापका कारण प्रक्रिया अवरुद्ध भएको छ ।

विधेयकमा शिक्षकको आवधिक बढुवा, अस्थायी शिक्षकको समायोजन, विभागीय कारबाही अधिकारलगायतका विषयमा विवाद रहेका छन् । शिक्षक महासंघले ‘तोकिएबमोजिम’ बढुवा र ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा माग गरे पनि सरकारले बजेटीय भार र प्रदान क्रमको बेमेल देखाउँदै असहमति जनाएको छ ।

२ साउनसम्म ऐन जारी नभए आन्दोलनमा उत्रने चेतावनी महासंघले दिएको छ । सरकार र समिति स्पष्ट नहुँदा विधेयक पासको सम्भावना झनै टाढिएको छ ।

शिक्षकको आवधिक बढुवाको विषयमा सहमति नजुट्दा विधेयक रोकिएको छ । कांग्रेस सांसद श्याम घिमिरेले आवधिक बढुवा ‘तोकिए बमोजिम’ राखेर जान प्रस्ताव राखेका छन् ।