स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु हटाइँदा सेवाग्राही अन्योलमा

अब स्वास्थ्य बीमा सेवामा रेफरल अस्पतालमा ‘प्रथम सेवा विन्दु’ तोकिने छैन


काठमाडौँ। 

स्वास्थ्य बीमा बोर्डले ‘प्रथम सेवा विन्दु’को रूपमा धुलिखेल अस्पताल लगायतका थुप्रै अस्पताललाई हटाउने निर्णय गरेसँगै सेवाग्राहीहरूमा अन्योल र तनावको स्थिति सृजना भएको छ । साउन १ गतेदेखि लागू हुने निर्णयअनुसार अब बीमितहरूले उपचार गर्नुअघि नजिकको सरकारी स्वास्थ्य संस्थाबाट रेफरल अनिवार्य रूपमा ल्याउँनुपर्नेछ । यो सूचना पाएपछि एक सातादेखि धुलिखेल अस्पतालमा बिरामीको भिड सबै ओपीडी, फार्मेसी, औषधि सिफारिसमा खचाखच बढेको छ।

अस्पतालमा पुगेका अधिकांस बिरामी भन्छन् —सरकारले बीमा सेवा सर्वसुलभ रुपमा दिन नसक्ने भए किन लागु गरेको ? बिहान ७ बजे औषधि लिनका लागि अस्पताल पुगेको बीमाको सफ्टवेयर नचलेर ४ बजे सम्म औषधिको पालो आएन । सरकारले हामीलाई झुक्यायो । बीमा बोर्डले नै सफ्टवेयर नचल्ने र कुनै कुनै बेला चले पनि ५ मिनेटमा एउटा फाइल हेर्न सक्ने गतिमा छोडेको धुलिखेल असपतालका नाम दर्ता, फार्मेसीमा कार्यरत कर्मचारीहरु बताउँछन् । 

एक सातादेखि यस्तै समस्या भएको छ । बिरामीको चाप थामी नसक्दो छ । सरकारले आम सर्वसाधारण नागरिकलाई स्वास्थ्य बीमा ललिपपका रुपमा देखाएर अन्तमा निराश बनाउँदै छ । डिउटीमा खटिएका कर्मचारीहरु असिन पसिन गर्दै सफ्टवेयर चलेन भनेर फोन गर्दै, दौडधुप गरिरहेका छन् । बिरामीहरु लाईनमा बस्दा बस्दा थाकेर लखतरान भैसकेका छन् । कति बिरामी त एक साता देखि धुलिखेलको होटल, लजमा बसेर जसरी भएपनि असार मसान्ता सम्म चेक जाँच गराई औषधि लिएर घर फर्कने भन्दै कुरिरहेका छन् । 

धुलिखेल सामुदायिक अस्पतालले गत वर्ष मात्र ३ लाख ७० हजारभन्दा बढी बिरामीलाई सेवा दिएको र त्यसवापत बीमा बोर्डबाट ६९ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको अस्पतालका प्रशासकीय निर्देशक डा. बलराम मल्ल बताउँछन् । “पैसा नपाए पनि हामीले सेवा रोकेका छैनौ ।” “तर अब सरकारको निर्णयअनुसार हामी प्रथम सेवा विन्दुका रूपमा सेवा दिन सक्दैनौं ।”

नयाँ निर्णय अनुसार काभ्रे जिल्लाका बीमितहरूलाई मेथिनकोट अस्पताल, पनौती, खोपासी, सुन्थान वा धुलिखेल स्वास्थ्य केन्द्रबाट रेफरल सिट लिएर मात्र धुलिखेल अस्पतालमा सेवा लिन पाइनेछ । बनेपा, तेमाल, रोशी, पाँचखाल लगायत जनघनत्व बढी भएको बस्ती र दुर्गम क्षेत्रका नागरिकहरूले भने यी केन्द्रहरू टाढा र अपायक भएको गुनासो गरिरहेका छन्। 

अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारका अनुसार क्यान्सर, डायलाइसिस, मानसिक रोग, अपाङ्गता, गर्भवती लगायत दीर्घरोगीहरूले एक पटक रेफरल लिएपछि बारम्बार ल्याउनु नपर्ने व्यवस्था गरेको छ । बीमा कै कारण उपकरण र जनशक्ति थपेर सेवा प्रवाह गर्दै आएका अस्पतालले भोलीका दिन दिने सेवा कस्तो होला ? 

सेवाग्राहीहरूले स्वास्थ्य बीमा बोर्डसँग धुलिखेल अस्पताललाई पुनः ‘प्रथम सेवा विन्दु’मा राख्न आग्रह गरेका छन्। । यति सुविधा सम्पन्न, चिकित्सक, उपकरण लगायत बिरामीका लागि काभ्रे मात्र नभै, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, भक्तपुरका बिरामीहरुलाई पायक पर्ने र सहुलियत दरमा उपचार हुने अस्पतालले स्वास्थ्य बीमाको सेवा लिँदै आएका थिए । अब निरन्तर सेवा पाएका विरामीहरू अन्योल र असहज स्थितिमा परेका छन्। 
 
स्वास्थ्य बीमा बोर्डले आगामी श्रावण १ गतेदेखि रेफरल (विशेषज्ञ) अस्पतालहरूमा ‘प्रथम सेवा विन्दु’ तोक्न नपाइने निर्णय गरेको छ । 
हालसम्म वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), धुलिखेल अस्पताल, गण्डकी मेडिकल कलेज (पोखरा), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ), जीपी कोइराला स्वास प्रश्वास केन्द्र (तनहुँ) लगायतका ठूला अस्पतालहरूमा पनि बीमितले पहिलो स्वास्थ्य सेवा लिने व्यवस्था रहेको थियो । यसका साथै नेपालकै पुरानो र आम नागरिकको पहुँच योग्य वीर अस्पतालमा २ हजार भन्दा बढी परिवार वीरमा ‘प्रथम सेवा विन्दु’का रूपमा दर्ता थिए । 

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार “ठूला अस्पतालहरूमा सामान्य उपचार थालियो भने जटिल केसका बिरामीहरूले सेवाबाट वञ्चित हुन सक्छन् ।” “त्यसैले हामीले पहिलो सेवा विन्दु र रेफरल केन्द्रबीचको भूमिका स्पष्ट रुपमा छुट्याउने निर्णय गरेका हौं ।” 

बिना पूर्व तयारी गरिएको बीमाको बदलिँदो स्वरुपको विरोधमा धरान, दाङ, पोखरा र तनहुँ नागरिकहरु सडकमै उत्रिए । बोर्डको निर्णयपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिले सेवा लिइरहेका स्थानीयले विरोध जनाएका छन्। । उनीहरूले बोर्डको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनसमेत गरेका छन्। । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि स्थानीयवासीहरू आन्दोलित भएका छन्। । उनीहरूले आफूहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नजिकको अस्पतालबाट यस्तो सेवा हटाइनु अन्यायपूर्ण भएको बताएका छन्। । यस्तै, पोखरा र तनहुँमा पनि विरोध भएको छ । 

बीमा बोर्डले भने यस्तो असन्तुष्टिलाई व्यवस्थापन गर्न सूचना र समन्वयलाई प्राथमिकता दिइरहेको जनाएको छ । बीमा बोर्डका अध्यक्ष थापाका अनुसार “यस्तो सुधारात्मक कदमले सुरुमै केही असन्तुष्टि ल्याउन सक्छ, तर दीर्घकालीन हिसाबले यसले सबै बीमितको उपचार सेवा अझ प्रभावकारी बनाउने दाबी गरेकोछ ।”

स्वास्थ्य बीमा प्रणालीअन्तर्गत साधारण स्वास्थ्य समस्या र प्रारम्भिक जाँच ‘प्रथम सेवा विन्दु’बाट गरिनुपर्ने मान्यता अनुसार अब जटिल र विशेषज्ञ सेवा आवश्यक परे मात्र बिरामीलाई ‘रेफरल अस्पताल’मा पठाउने प्रावधान लागू गरिएको जनाएकोछ । “हामी यस निर्णयबाट पछि हट्दैनौं अध्यक्ष थापा भन्नुहुन्छ । सबै बीमितलाई आफ्नो स्तरअनुसारको सेवा सुलभ बनाउने हाम्रो उद्देश्य हो । अहिले गरिएका सुधारहरूले दीर्घकालीन रूपमा स्वास्थ्य बीमा प्रणालीलाई पारदर्शी न्यायोचित र पहुँचयुक्त बनाउनेछ ।”

बीमा बोर्डले गरेको निर्णयले दुरदराजका नागरिकलाई भने रिफरल सेन्टर र प्रथम सेवा विन्दुको भौगोलिकतालाई नियाल्दा निकै समस्या पर्छ । बीमा बोर्डले पटक पटक गरेका निर्णयले सहजता भन्दा असहजता निम्त्याएको बीमितहरुको ठम्याईछ ।

स्थानीय तह अन्तर्गतका आधारभूत अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा प्रथम सेवा विन्दु सञ्चालन गरिने छ। बोर्डले स्थानीय तहहरूलाई प्रथम सेवा विन्दुको आवश्यकता र प्रस्तावित संस्थाको न्यूनतम अपुग मापदण्ड एक महिनाभित्र पूरा गर्ने प्रतिबद्धता जनाएमा स्वीकृति दिन सकिने समेत जारी गरेको सुचनामा उल्लेख छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्थाबाट बीमित व्यक्तिले प्रथम सेवा लिन सक्ने व्यवस्था हुनु पर्ने स्पष्ट व्यवस्था छ। यसैलाई कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डले सबै स्थानीय तहहरूलाई आवश्यक विवरण यथाशीघ्र पठाउन अनुरोध गरेको छ।