गुरु र चेलालाई सम्मान


राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपाल केन्द्रीय महिला विभागले गुरु सम्मानका साथै विभिन्न चित्रकलाका विद्यार्थीलाई प्रोत्साहन लगायतका कार्यक्रम सम्पन्न गरेको छ।राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा आयोजित समारोहमा नवगठित महिला विभागले आफ्नो पहिलो कार्यक्रमस्वरुप गुरु–शिष्य परम्पराको शुरुआत गर्दै सो कार्यक्रमको आयोजना गरेको हो।

समारोहमा शास्त्रीय संगीत प्रशिक्षक संगीत प्रवीण श्रीराम आचार्यलाई खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने चित्रकलामा जेहन्दार विद्यार्थीहरु आयान्स पसहल, श्वेता श्रेष्ठ, प्रसिद्धि सुवेदी, निलिमा श्रेष्ठ, विधि शाहलगायतलाई जेहेन्दार विद्यार्थी प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा सवनम मुखियाको लेखन, निर्देशन र छायांकन रहेको डरका आ“सुहरु नामक वृत्तचित्र र महिलाहरुद्वारा कोरिएका चित्रकला प्रदर्शन गरिएको थियो।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयन संयन्त्र प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभाग प्रमुख सुस्मा राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने अध्यक्ष भूमिका लिम्बु सुब्बाले कार्यक्रमबारे प्रकाश पारेकी थिइन्। कार्यक्रममा पूर्वमन्त्री शान्ता मानवी तथा सम्मानित व्यक्ति श्रीराम आचार्यलगायतले मन्तव्य राख्दै गुरु पूर्णिमा तथा यसको महत्वबारे चर्चा गरेका थिए।