अमेरिका ।
नेपालमा अमेरिकी पर्यटकको संख्या बढाउन नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले सक्रियता बढाएको छ ।
महावाणिज्य दूतावासले स्थानीय पर्यटन व्यवसायीहरुसँग शुक्रबार न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम गरी अमेरिकीहरुका लागि नेपाल एक उत्कृष्ट एवं आकर्षक गन्तव्य भएको दावी गर्दै पर्यटन व्यवसायीहरुलाई आफ्नो सञ्जालमा जोड्न आग्रह गर्यो ।
कार्यक्रममा दुतावासका महावाणिज्य दुत दधिराम भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै हिमाल अवलोकन एवं आरोहण, कला संस्कृति, प्राकृतिक सौन्दर्यता, ऐतिहासिक विरासत, जंगल सफारी एवं आध्यात्मिकताका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै हरेक मौसम पर्यटकका लागि अनुकुल रहेको बताए । अमेरिकी पर्यटक नेपालका लागि दोश्रो ठूलो श्रोत भएको भन्दै महावाणिज्य दुत भण्डारीले अमेरिकी बजारको प्रभावले विश्व प्रर्यटन क्षेत्रमा प्रभाव पार्ने भन्दै त्यसका लागि सहयोग गर्न स्थानीय पर्यटन व्यवसायीहरुलाई आग्रह गरे । अमेरिकी पर्यटकहरुको औसत बसाई बढि हुने र त्यसमा पनि औसत दैनिक एक सय डलर खर्च गर्ने हुनाले पनि त्यसले नेपालको पर्यटन व्यवसायमा ठूलो प्रभाव पार्ने उनको भनाई थियो । औसतमा अन्य देशका पर्यटकहरुले बढिमा दैनिक ४० डलर खर्च गर्ने सरकारी तथ्यांक छ ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले नेपाल पर्यटन बोर्ड र प्यासेफिक एशिया ट्राभल एशोसियसन (पाटा), न्यूयोर्क च्याप्टर सँगको सहकार्यमा कार्यक्रम गरेको हो । कार्यक्रममा स्थानीय पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको भन्दै पर्यटकका लागि देशको ढोका मात्र होइन मनको ढोका खोलेर स्वागत गर्ने बताए । उनले हरेक उमेर समूहका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भन्दै त्यसका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरे । नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले पर्यटन प्रवर्द्धनका लागि अमेरिकी पर्यटन व्यवसायीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रमले निकै सकारात्मक प्रभाव पारेको नेपाल सरकारका लागि न्यूयोर्कका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले जानकारी दिए ।
नेपाल भ्रमण पछि नेपालका बारेमा विभिन्न अन्तर्राष्ट्रिय मिडियामा अनुभव एवं लेख प्रकाशन गरेकी लेखिका एवं कार्यक्रम निर्माता इरिन लेभिले नेपाल बयस्क महिलाहरुका लागि सुरक्षित गन्तव्य भएको भन्दै एक पटक होईन कैयौं पटक नेपाल भ्रमण गर्दा पनि फरक अनुभूति हुने बताए ।
कार्यक्रममा प्यासेफिक एशिया ट्राभल एसोसिएसन, न्यूयोर्क च्याप्टरले आफ्नो अनुभूति प्रस्तुत गर्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्दो प्रयास गर्ने आश्वासन दिएको थियो । त्यस्तै एशोसिएशनमा जोडिएका व्यवासायीहरुले नेटवर्क विस्तारका लागि थप पहल गर्ने बताएका थिए । त्यस्तै नेपाल टि कलेक्टिभका संस्थापक निश्चल बास्कोटाले नेपाललाई चिया पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए । उनले विश्व बजारमा नेपाली चियाको माग बढिरहेका बेला चिया पर्यटनबाट उपभोक्ता र किसानबीचको सम्बन्धलाई जोड्न चिया पर्यटनले ठूलो मद्दत पु¥याउने बताए । उनले अमेरिकी पर्यटकहरु अहिले चिया पर्यटनमा निकै आकर्षित भएको भन्दै त्यसले नेपालको सिंगो पर्यटन क्षेत्रलाई नै प्रभाव पार्ने बताए ।
नेपाल पर्यटन बोर्डको तयांक अनुसार जुन मा ९ हजार ६ सय ९६ जना अमेरिकी पर्यटकहरु नेपाल आएका थिए भने मे मा ९ हजार ७४ जना अमेरिकी पर्यटक नेपाल आएका थिए ।











प्रतिक्रिया