काठमाडौँ ।
हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहँदा अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ। लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानको मापनमा कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
यद्यपि, आज बारा, पर्सा, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व–पश्चिम लगायतका जिल्लाबाट बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
यस्तै, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व–पश्चिम, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, प्युठान, बैतडी, डोटी, बझाङ लगायतका जिल्लाबाट बहने साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने र मध्यम जोखिमको सम्भावना रहेको छ।
भोलिका लागि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा बहने केही साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।













प्रतिक्रिया