‘ऐया ! आमा मरेँ नि ! सहनै नसक्ने गरेर पेट दुख्यो ।’ टीका छट्पटाइरहेको थियो ।
उसको दाजु शिवले सोधे, ‘अचानक के भयो ? अघिसम्म त ठीक थिइस् । के खाएको थिइस् ? नढाँटीकन भन् ।’
‘केही खाएको छैन, दुखेर मर्न लागेँ ।’ ऊ लगातार आमा, आमा ! भनेर कराइरह्यो । शिवले हत्त न पत्त अस्पताल लिएर गए ।
‘लौ न ! डाक्टर साब ! के भएको हो ?’ शिव पनि आत्तिए ।
भिडियो एक्सरे गरेपछि तत्कालै अप्रेसन गरियो । होसमा आएपछि वार्डमा सारियो । बिरामीलाई आराम भयो । हस्याङफस्याङ गरेर उसका श्रीमती, छोरा र आफन्तहरू आइपुगे ।
श्रीमतीले सोधिन्, ‘एक्कासी के भएको रहेछ ? यस्तो त पहिले कहिल्यै भएको थिएन । मेरो त सात्तोपुत्लो गयो । धन्न ! घरमा दाजु हुनुहुन्थ्यो ।’
शिवले भने, ‘एपेन्डिक्स रे ! यो त डर लाग्दो रोग पो रहेछ ।’
‘म त बाँच्दिन कि क्या हो ? यत्ति नै रहेछ जीवन भन्ने सोचेको थिएँ । दाइले बेलैमा अस्पताल लानुभयो र मात्र !’, बिरामी टीकाले भन्यो ।
‘धत् लाटा ! त्यस्तो कुरा नि गर्ने हो ? कहाँ अहिले मरिन्छ र ? कति दुःख, सङ्घर्ष गर्न लेखेको छ ? बुहारी आलाप गर्न थालिन् अनि मैले पनि दौडाएँ नि !’ दाइ शिवले भने ।
टीकाले हाँस्दै भन्यो, ‘घरमा अरु सबै भए पनि आफूलाई पीडा हुँदा आमालाई मात्र सम्झिँदो रहेछ है ! आमा यो संसारमा नभए पनि ऐया आमा ! भनिदो रहेछ ।’
– भूमिका गैरे तिमिल्सिना
गैंडाकोट–४, नवलपुर ।











प्रतिक्रिया