देशभक्तिमा समर्पित फिल्म यो मन त मेरो नेपाली होको बुधबार राति राजधानीमा ग्रयाण्ड प्रिमियर गरिएको छ।
आज शुक्रबार अल नेपाल रिलिजमा आउने फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्मले अहिलेको पुस्तालाई समेत नेपाली भाषा, कला र संस्कृतिप्रति जिम्मेवार बनाउने सन्देश दिएको बताए।
निर्माता, निर्देशक तथा अभिनेता अशोक शर्माले फिल्मको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। हास्य अभिनेता राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्व झल्काउने प्रयासका कारण फिल्म हरेक नेपालीले हेर्नुपर्ने बताए। लोक गायिका ज्योति मगरले फिल्मको विषयवस्तुको प्रशंसा गरिन्।
फिल्मका मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङलगायतले प्रिमियरमा पाएको फिल्मको तारिफले उत्साहित बनाएको बताए। निर्देशक मित्र प्रधान (नर) ले फिल्मको प्रिमियरमा पाएको प्रतिक्रियाले हौसला मिलेको र साच्चिकै देश, नेपाली भाषा, साहित्य र कलाको लागि फिल्म निर्माण गरेको बताए।
पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा मित्र प्रधानद्वारा प्रस्तुत तथा ज्ञान बहादुर प्रधान (रोशन) द्वारा निर्मित फिल्ममा नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, बिजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौलालगायतले पनि अभिनय गरेका छन्।











प्रतिक्रिया