बजेट शून्यताबाट जोगियो महानगर

७ महिनापछि आज कामपा कार्यपालिकाको बैठक बस्दै

9.31k
Shares


काठमाडौं ।

गत पुस महिनादेखि बस्न नसकेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज शुक्रवार बस्ने भएको छ । बिहान ११ बजे स्रोत निर्धारण समितिको बैठक बसेलगत्तै कार्यपालिकाको बैठक बस्न लागेको हो । यसको लागि प्रशासन विभागले पत्र पठाइसकेको छ ।

कामपा स्रोतका अनुसार स्रोत निर्धारण समितिको बैठक बसेलगत्तै दिउँसो २ बजे कार्यपालिका बैठक बस्ने तय भएको छ । मेयर बालेन्द्र साहको अध्यक्षतामा बस्ने बैठकमा, उपमेयर सुनिता डंगोल, राजस्व परामर्श समितिका संयोजक नवराज पराजुली, प्रवक्ता नविन मानन्धर, नगर कार्यपालिका सदस्यद्धय अनिता कार्की र मैयालक्ष्मी महर्जनको सहभागिता रहनेछ ।
बैठकले बजेटको स्रोत निर्धारण गर्नेछ अर्थात बजेटको सिमा निर्धारण गर्नेछ । त्यसलगत्तै उपमेयर सुनिता डंगोलको संयोजकत्वमा बजेट तर्जुमा समितिको बैठक बस्नेछ । सो बैठकले बजेट बाँडफाट गरी नगर कार्यपालिकाको बैठकमा पेस गर्नेछ । नगर कार्यपालिकाले पारित गरेको बजेट नगरपरिषद्मा पेस हुनेछ । आगामी आबको लागि करिब करिब ४० अर्बको बजेट अनुमान गरेकोमा २५ अर्बको बजेट ल्याउन लागिएको स्रोतको भनाइ छ । नगर परिषद्को बैठकले बजेट पास गर्ने कार्यतालिका छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले स्रोत निर्धारण समितिको बैठकपछि बजेट समितिको बस्ने कार्यतालिका रहेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंले सदस्यसचिवको रूपमा बैठक सञ्चालन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
पछिल्लो पटक पुस १४ गते महानगरको १६औँ नगर सभा बसेयता प्रत्येक महिना हुनुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको शुक्रवार सय दिनभन्दा बढी भएको छ । लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन साहलाई पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए । मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा बैठक नबस्ने अडान लिए पनि बजेटका कारण महानगर नचल्ने अवस्थामा पुगेपछि मेयर साहले बैठक बोलाउनुभएको हो ।

बैठक बोलाएर कसैको जित र हार नहुने तर करिब ५० लाख जनताको सेवामा सहज हुने जिकिर गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बजेट नआउँदा समस्या भएको थियो । अब समस्या समाधान भएर काम अघि बढ्नेछ ।’ उहाँले बजेट ल्याउन आफू बाधक नभएको बताउदै आउनुभएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके कामपाको कामकाज ठप्प हुने अवस्था थियो । ६ दिनपछि कामपा शुन्य अवस्थामा रहने भएपछि सबै कार्यपालिका सदस्यको आग्रहमा मेयर साहले बैठक बोलाउनुभएको हो ।

कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ । सोही कार्यपालिकाले नगरसभाको मिति तोक्ने छ भने असार मसान्तभित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतको भनाइ छ ।