अनुशासन कारबाहीको परकम्पले कांग्रेसमा हलचल

कोइराला पक्ष प्रतिरोधमा



काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएसँगै भएको कारबाहीले पार्टीभित्र एकाएक हलचल मच्चिएको छ । १६ देखि २३ असारसम्म चलेको बैठकलगत्तै पार्टीको अनुशासन समितिले बुधबार १८ जना नेता–कार्यकर्तामाथि कारबाहीको निर्णय सार्वजनिक गरेपछि कांग्रेसभित्र ठूलो पराकम्प गएको छ ।

कारबाहीको सूचीमा अधिकांश डा. शेखर कोइराला समूहका नेता कार्यकर्ता परेपछि कोइराला पक्ष आक्रोशित हुँदै चर्को प्रतिरोधमा उत्रिएको छ । उनीहरूले कारबाहीलाई ‘एकपक्षीय, बदनियतपूर्ण र विधानविपरीत’ भन्दै अस्वीकार गरेका छन् ।
कारबाहीको समय र शैलीमाथि पनि प्रश्न उठेको छ । केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्ने भनिएको विषय बैठक सकिएको दुई दिनपछि मात्रै बाहिर ल्याइनुले पार्टीभित्र भाँडभैलो सिर्जना गर्न खोजिएको अर्थको रूपमा कोइराला पक्षले बुझेका छन् ।

निर्णय सार्वजनिक भएको भोलिपल्ट बिहीबार डा. शेखर कोइरालाले आफ्नो पक्षका नेताहरूको आकस्मिक बैठक बोलाएर कारबाहीको प्रतिरोधमा उत्रने निर्णय गर्नुभएको छ । काठमाडौंको विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुन नरसिंह केसी, बलबहादुर केसी, मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, सञ्जय गौतम, राजेन्द्र बजगाईंलगायत सहभागी थिए । सो बैठकमा सरकारका दुई मन्त्रीहरू कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुदमन्त्री तेजुलाल चौधरीको समेत सहभागिता रहेको थियो ।

बैठकपछि नेता अर्जुननरसिंह केसीले पक्षपातपूर्ण कारबाहीको प्रतिरोध गरिने र पीडितलाई न्याय दिलाएरै छाड्ने बताउँदै भन्नुभयो– ‘विधानमाथि आक्रमण गर्दै गरिएको निर्णयलाई हामी मान्दैनौं ।’कोइराला पक्षका नेताहरूका अनुसार केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका शीर्ष पाँच नेताबीच अनुशासनसम्बन्धी निर्णय बाहिर नल्याउने मौखिक सहमति भएको थियो । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच त्यस्तो सहमति भएको थियो । तर, एकाएक कारबाही नै गरिएको जानकारी बाहिर आएपछि भने इतरपक्ष आक्रोशित हुँदै प्रतिरोधमा उत्रिएको हो । नेता गुरुराज घिमिरेले भन्नुभयो– ‘सहमति तोडेर बहुमतको भरमा निर्णय लिइयो र एकतर्फी रूपमा बाहिर ल्याइयो ।’

संस्थापन पक्षले भने कोइरालाकै प्रस्तुति र आक्रोशका कारण कारबाही गर्नुपरेको आरोप लगाएको छ । संस्थापन पक्षका एक शीर्ष नेताले भने– ‘निस्कासनकै तहमा कारबाही नगर्ने सहमति थियो, तर शेखरजीले केन्द्रीय समितिमै आक्रोश पोखेपछि सहमति तोडियो अनुशासन समितिका सभापति रिसाए र निर्णय बाहिर ल्याइयो । यो शेखरजीकै कारण भएको हो ।’
अनुशासन समितिको निर्णयले कांग्रेसभित्र शक्ति संघर्ष र असन्तुलनको झ्याल खोलेको छ । शेखर कोइराला पक्ष सशक्त प्रतिरोधमा उत्रिसकेको छ भने देउवा पक्षले त्यसलाई सशक्त नियन्त्रण गर्ने रणनीतिका साथ अघि बढिरहेको बताइन्छ । यो घटनाले पार्टी अनुशासनभन्दा बढी भित्री रणनीतिक चहलपहल, स्वार्थगत ध्रुवीकरण र भावी नेतृत्व प्रतिस्पर्धाको संकेत दिएको विश्लेषकहरूको ठम्याइ छ ।