‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ को नेपाली संस्करण सार्वजनिक


काठमाडौं। 

सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भए तापनि उनका विचार र प्रभाव दक्षिण एसियाका धेरै भूभागमा फैलिएको छ। पाकिस्तानमा पाइने महत्त्वपूर्ण बौद्ध सम्पदाहरू पनि त्यसैको प्रमाण मानिन्छन्। यही यथार्थलाई मनन गर्दै पाकिस्तान सरकारको पहलमा नेपालमा आज ‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ नामक पुस्तकको नेपाली संस्करण विमोचन गरिएको छ।

पुस्तकका लेखक बौद्धविद् ओम चरण अमात्य हुन् । यसअघि अंग्रेजी भाषामा प्रकाशित  उक्त पुस्तक नेपाली पाठकका लागि नेपाली संस्करणमा ल्याइएको हो।

पाकिस्तानको काठमाडौँस्थित दूतावासद्वारा आयोजित सो पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि पूर्व पर्यटनमन्त्री तथा नेकपा (एमाले)का सांसद भीम प्रसाद आचार्यले नेपाल र पाकिस्तानबीचको जनस्तरीय सम्बन्धलाई सुदृढ बनाउनमा सांस्कृतिक सेतुको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले बौद्ध सम्पदालाई साझा विरासतको रूपमा चिनाउँदै यस किसिमको प्रयासले दुई देशबीचको विश्वास अझ बलियो बनाउने धारणा राखे।

पाकिस्तानका लागि नेपाली राजदूत अब्रार एच। हास्मीले पाकिस्तानले आफ्नो ऐतिहासिक सम्पदाको संरक्षणमा गर्व गर्ने राष्ट्र भएको बताउँदै ती सम्पदाहरू आस्थावान अनुयायी र पर्यटकहरू दुबैसँग भावनात्मक रूपमा जोडिने माध्यम बन्न सक्ने बताए। उनले लेखक अमात्यको प्रयासको प्रशंसा गर्दै पुस्तकले नेपाल–पाकिस्तान सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

पुस्तक विमोचन कार्यक्रममा म्यानमारका राजदूत यु म्यो म्यिन्त मौङ र श्रीलंकाका कार्यवाहक राजदूत चमीरा मुनेसिंहे विशेष अतिथि थिए। साथै, बौद्ध भिक्षु, विद्वान, राजनीतिक नेता, पत्रकार, नागरिक समाजका प्रतिनिधि, पाकिस्तान दूतावासका कर्मचारी तथा उनका परिवारजनहरू सहभागी थिए। पाकिस्तानका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थानहरू अनलाइनमार्फत सहभागी भएका थिए।

पुस्तकका लेखक ओम चरण अमात्यले पाकिस्तानका टक्सिला, स्वात, मनसेहरा र गन्धार क्षेत्रका बौद्ध स्थलहरूबारे जानकारी दिँदै ती नेपालसँग ऐतिहासिक र आध्यात्मिक सम्बन्धमा रहेको बताए। उनले नेपाली पाठकहरूका लागि यो पुस्तक अनुसन्धान, आस्था, सांस्कृतिक पर्यटन र अन्तरदेशीय मित्रताको स्रोत बन्ने अपेक्षा व्यक्त गरे।

पाकिस्तानका बौद्ध सम्पदा प्रवर्द्धन राजदूत ए. इमरान शौकतले अनलाइन सम्बोधनमार्फत पाकिस्तानमा रहेका सम्पदाको संरक्षण तथा प्रवर्द्धनबारे जानकारी गराए।

कार्यक्रममा विभिन्न बौद्ध धार्मिक संघसंस्थाका प्रतिनिधि, बौद्ध अध्ययनकर्ता, पत्रकार, कूटनीतिज्ञ तथा संस्कृतिसम्बन्धी सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।