शेखर समूहको निष्कर्ष: कांग्रेसको अनुशासन कारबाही अवैधानिक, पूर्वाग्रहपूर्ण


काठमाडौं ।

नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले पार्टीले गरेका अनुशासन कारबाहीलाई वैधानिक नभएको निष्कर्ष निकालेका छन्। विशालनगरमा बसेको बैठकमा नेताहरूले पार्टी विधानअनुसार ६ महिनाभित्र कारबाही गर्नुपर्ने प्रावधान पालना नभएकाले कारबाही अमान्य भएको बताएका छन्।

नेता राजेन्द्र बजगाईंले कांग्रेसले एमालेको अनुसरण गर्दै अनुशासन कारबाही गरेको आरोप लगाए। अर्जुननरसिंह केसीले कारबाही पूर्वाग्रहपूर्ण भएको र विधानबाहिरको कारबाही स्वीकार्न नसकिने बताए।

शेखर समूहले कारबाहीको पुनरावलोकनको माग गर्दै बृहत् भेला गर्ने तयारी गरेको छ। कांग्रेसले गत निर्वाचनमा अन्तरघात गरेको आरोपमा १८ जना नेता–कार्यकर्तालाई निष्कासन गरेको छ।