स्थानीयको सहयोगमा लहानमा पक्की प्रहरी भवन निर्माण


काठमाडौं ।

सिरहाको लहान नगरपालिका–१३, पक्कीटोलमा स्थानीयको सहयोग र चन्दा सङ्कलनमार्फत करिब २५ लाख लागतमा अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण गरिएको छ। सो भवनको उद्घाटन नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा गरे।

नगरप्रमुख चौधरीले स्थानीयको एकता र सहयोगको प्रशंसा गर्दै यो भवन क्षेत्रका लागि बरदान भएको बताए। प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले समुदाय–प्रहरी सहकार्य अपराध न्यूनीकरणमा प्रभावकारी हुने धारणा राखेका थिए।प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको सेतु भनेका थिए।

२०६७ सालमा स्थापना भएको उक्त अस्थायी चौकी अहिले स्थानीय प्रयासमा पक्की संरचनामा परिणत भएको हो। अब चौकीलाई स्थायी बनाउने माग उठेको छ।