नेपालमा लोकतन्त्र भने पनि यहाँ जति धेरै प्रश्न र विवाद उठेको शायद कुनै मुलुकको व्यवस्थामाथि छैन होला । सारा नेपालीमा वितृष्णा र असन्तुष्टि देखिएको छ नै, म एकजनाको मात्र असन्तुष्टि र वितृष्णा होइन । म जे छु, स्पष्ट छु । मेरो कानुनमा अध्ययन छ । मैले नेपालको न्याय प्रदानमा भएका त्रुटिपूर्ण विषयमा लेख्ने गरेकै छु । पत्रकारिताका विषयमा अध्ययन र व्यवहारमा पनि भिजेको धेरै वर्ष भइसकेको छ ।
सम्भवतः मैले राजनीतिमा पनि पाइला बढाएकै छु । भलै जनताले मलाई नरुचाए पनि मैले जनहितमै धेरै काम गरेका प्रमाणहरु मसँग यथेष्ट नै छन् । म बिकाउ बुद्धिजीवीमा नपरेको हुँदा यस्ता बुद्धिजीवीहरुले धेरै मात्रामा मलाई अनावश्यक दुःख दिएका पनि छन् तर तिनीहरुप्रति मेरो पूर्वाग्रह पनि छैन । यी सब मेरो आत्मरति वा बखान पटक्कै होइन, न म स्वघोषित प्रचारक नै हुँ ।
हाल म बीपीको समाजवादका लक्ष्यलाई मूर्तरुप दिने विज्ञहरुका संस्थाको केन्द्रीय कार्यकारिणी सदस्य छु । विगतमा त्यस संस्थाबाट देशका हरक्षेत्रका विज्ञ राखेर वल्र्ड ट्रेड सेन्टरमा विभिन्न कार्यक्रम चलाएको पनि हो । आगामी श्रावण ६ गते बीपी जन्म जयन्तीको सन्दर्भ र ७ गते पुष्पलालको कार्यक्रम पनि परेकोले श्रावण ८ गते बीपी कार्यक्रमको भव्य आयोजना गरिने कार्यक्रम छ । सो कार्यक्रममा नेपालमा किन सुशासन हुन सकेन, व्याप्त भ्रष्टाचार किन हुन गयो, कारण के हो र निवारण के–के छन् ? भन्ने विषयमा बृहत् छलफल र संवाद गरिने तय भइसकेको छ । हरक्षेत्रका विज्ञको त्यही भेलामा म प्रश्न–उत्तर गर्ने तयारीमा छु ।
मेरो जन्मस्थान गण्डु हो । केही राम्रा वा नराम्रा पक्षमा लेखेकोमा विवाद र वैमनस्य उठाउनेहरुप्रति मेरो कुनै टिप्पणी छैन । आम वडाबासीहरुलाई थाहा भएको र भोगेको कुरामा मैले थप किन खोतलिरहनुपर्यो र ?
राष्ट्रिय प्राणी उद्यानको क्षेत्राधिकार के ? तलब खानेले जवाफदेही हुनुपर्छ कि पर्दैन ? मैले जवाफ दिइरहनुपर्ने कि उनीहरुले ? कर्तव्यबोध कसको ? जनताप्रति उत्तरदायित्व कसको ? प्रदूषण रोक्ने कसले ? वातावरण स्वच्छ बनाउने कार्य कसले गर्ने ? जनताले त सम्बन्धित निकायलाई सहयोग गर्ने मात्र हो । के भइरहेछ, के हुनुपर्ने हो ? मैले भन्नुपर्ने ? राजनीतिक ऐजेन्डा लिएर लड्नेको लागि के मैले वडाको पदाधिकारी पाएको छु र ? खाने–पिउने रामे, चोट पाउने चामे नीति लिने कतिपय नेताहरुको दोहरो चरित्र देखिन्छ ।
अब पनि जनताले नबुझ्ने भन्ने कुरै हुँदैन । मंन्थलीमा कति विकास भयो ? हेर्न आए भइहाल्यो । कहाँ छ समानुपातिक विकास ? भन्न पाइने कि नपाइने ? सरकारको कामको आलोचना गर्न पाइन्छ कि पाइन्न ? कि मानहानी हुन्छ कसैको यसले ? यहाँ राजावादीहरुले व्यवस्था नै खराब भन्ने आवाज नै उठाइसकेको उदाहरण छैन र ? कैयौँ गीत वा श्लोक बनाएकै छन् । के भन्छौ तिमीहरु ? मेरो स्पष्ट सोधाइ तिमीहरुलाई ? भ्रष्टाचार भएकोमा भ्रष्टाचार भन्छन् जनता तर नभएकोमा भयो भनेर आक्षेप लगाउनु ठूलो मूर्खता र बेइमानी हो । हामी ठूला पार्टीका कार्यकर्ताहरु भनाउँदाहरुले जे पनि गर्ने अनि अरुले चाहिँ ठीक भनिदिनुपर्ने ? वा गजब !
आवश्यक परेमा ठाउँमा नै सबै कुरा खुलाउँला ? लेख्ने अधिकार हो, लेखेकोमा खेद छैन । भन्नेले जे भन्दै गरून् ।
– यज्ञबहादुर कार्की, गुण्डु, भक्तपुर ।











प्रतिक्रिया