२१औँ शताब्दीका उत्कृष्ट फिल्ममा,प्यारासाइट शीर्ष स्थानमा


२१औँ शताब्दीको उत्कृष्ट फिल्महरूको सूची हालै सार्वजनिक गरिएको छ।अमेरिकी म्यागेजिन न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सन् २००० पछि रिलिज भएका उत्कृष्ट एक सय फिल्मको सूचीमा दक्षिण कोरियाली फिल्म प्यारासाइट शीर्ष स्थानमा रहेको छ। प्यारासाइट सन् २०१९ मा प्रदर्शनमा आएको थियो। जसले ९२औँ ओस्कार एकेडेमी अवार्डमा उत्कृष्ट फिल्म, निर्देशन, मौलिक पटकथा र अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको थियो। यो मुख्य श्रेणीमा अवार्ड जित्ने गैर–अंग्रेजी भाषामा बनेको पहिलो फिल्म थियो। फिल्मले सामाजिक व्यङ्ग्यका रूपमा धनी र गरिब वर्गबीचको द्वन्द्व र नवउदारवादको आलोचना प्रस्तुत गर्छ। यसको अन्तर्राष्ट्रिय सफलताले निर्देशक बोङ जुन होलाई विश्वस्तरको चर्चामा ल्याएको थियो।

म्यागेजिनले ५ सयभन्दा बढी अन्तर्राष्ट्रिय फिल्मकर्मी, निर्देशक, अभिनेता र अन्य स्रष्टाको मतका आधारमा तयार गरिएको सूचीले पछिल्ला दुई दशकमा विश्व सिनेमा क्षेत्रका प्रमुख प्रवृत्ति उजागर गरेको छ। फिल्म छनौट गर्दा सूचीले विधा, प्रविधि र सामाजिक सन्देशको विविधतालाई प्राथमिकतामा राखेको देखिन्छ।

सूचीको दोस्रो नम्बरमा मलहोल्यान्ड ड्राइभ, तेस्रोमा देअर विल बी ब्लड, चौथोमा इन द मुड फर लभ, पाँचौमा मुनलाइ, छैठांँमा नो कन्ट्री फर ओल्ड मेन, सातौँमा इटर्नल सनसाइन अफ द स्पटलेस माइन्ड, आठौँमा गेट आउट, नवौँमा स्प्रिटेड अवे र दशौँमा सोसल नेटवर्क रहेका छन्। त्यस्तै एघारौँमा म्याड म्याक्स : फ्युरी रोड, बाहौँमा द जोन अफ इन्ट्रेस्ट, तेहौँमा चिल्ड्रेन अफ मेन, चौधौँमा इनग्लोरियस बास्टड्र्स, पन्ध्रौँमा सिटी अफ गड, सोहौँमा क्राउचिङ टाइगर हिडन ड्रागन, सत्रौैँमा ब्रोकब्याक माउण्टेन, अठारौमा ए टु मामा ट्याम्बियन, उन्नाइसौँमा जोडियाक र बीसौँ नम्बरमा द उल्फ अफ वाल स्ट्रिट परेका छन्।