१ अर्ब ५० करोडको क्रिप्टोकरेन्सी कारोबारमा २ भारतीय पक्राउ


काठमाडौं ।

अवैध क्रिप्टोकरेन्सी कारोबार तथा हुण्डीमार्फत आर्थिक अपराधमा संलग्न रहेका दुई भारतीय नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरको सानेपाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि १ अर्ब ५० करोड रुपियाँभन्दा बढीको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोप लागेको छ ।

सीआईबीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा सानेपा, कालोपुलस्थित राजतीर्थ ट्रेडर्स नामक किराना पसलमा छापा हानेको थियो । पसलको आवरणमा सञ्चालित अवैध हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबारको पुष्टि भएपछि दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

प्रहरीले रूपेशकुमार गुप्ता र विपिन कुमारलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट नेपाली रुपियाँ ८ लाख २० हजार, भारतीय रुपियाँ १० हजार र मोबाइल फोन ५ थान बरामद गरेको छ । दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभौतिक मुद्रा प्रयोग, हुण्डी कारोबार र संरक्षित वन्यजन्तुसम्बन्धी कसूरमा अनुसन्धान थालिएको सीआईबीले जनाएको छ ।