रसुवागढी सुख्खा बन्दरगाहमा बाढीको ठूलो क्षति, नाकाको अस्तित्व संकटमा


काठमाडौं ।

रसुवागढी नाकामा मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार र सुख्खा बन्दरगाहका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। झन्डै तीन अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको ६० प्रतिशत संरचना नष्ट भएको बताइएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ८१ प्रतिशत निर्माण सम्पन्न भइसकेको बन्दरगाह फागुनभित्र सञ्चालनमा ल्याउने तयारीमा थियो। प्रमुख प्रशासनिक भवनबाहेकका सबै पूर्वाधारमा क्षति पुगेको छ।

यो नाका विद्युतीय गाडी आयातको मुख्य प्रवेश विन्दु हो, जहाँ चालु आर्थिक वर्षमा मात्रै ८२ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको थियो।

सरकारले नाकाको पुनर्निर्माणलाई प्राथमिकता दिँदै मितेरी पुल र चीनतर्फको बाटो बनाउन परराष्ट्र मन्त्रालयमार्फत समन्वय गर्न निर्णय गरेको छ।