काठमाडौं ।
‘जनताको सत्ता, जनताको विकास’ भन्दै दशवर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षको भूमिकामा हुनुहुन्छ । माओवादी केन्द्र अहिले विचलन, गुटबन्दी र जनविमुख निर्णयहरूका कारण गम्भीर संकटमा छ । जनयुद्धको सपना बोकेर आन्दोलनमा होमिएका हजारौं कार्यकर्ता आज पलायन भएका छन् र पार्टीभित्र निराशा छाएको छ ।
दशवर्षे जनयुद्धको बलमा स्थापित भएको नेकपा माओवादी केन्द्र पटक–पटक राज्यसत्ता पुगे पनि आज नेतृत्वको दिशाहीनता, कार्यकर्तामाथिको उपेक्षा र सिद्धान्तहीन सम्झौतावादले गम्भीर संकटमा फसेको छ ।
हिजोको क्रान्तिकारी पार्टी आज रवि लामिछानेजस्ता सहकारी ठगी अभियोगमा कारागार पुगेका व्यक्तिको वकालत गर्दै हिँड्नु, माधवकुमार नेपालजस्ता अख्तियारले भ्रष्टाचार मुद्दा चलाएका नेताको पक्षमा उभिनुजस्ता निर्णयहरूमार्फत आफ्नै नैतिक धरातल भत्काइरहेको छ ।
माओवादी कार्यकर्ता दीपशंकर कडरिया भन्नुहुन्छ– ‘आज जनजीविकाको सवाल उठाउनुपर्ने बेला हो । तर, पार्टी नेतृत्व राजनीतिक दलालीमा अल्झिएको छ, कार्यकर्ता आत्मग्लानीमा डुबेका छन् ।’ कार्यकर्ताहरू सार्वजनिक रूपमा आलोचना गर्न नचाहे पनि पार्टीको आन्तरिक भेलाहरूमा नेतृत्वको दोहोरो चरित्रप्रति गहिरो असन्तोष पोख्ने गरेका छन् । बैठकमा कुरा उठ्छ तर अध्यक्षको कानमा पुग्दैन । यसरी पार्टीभित्रको आन्तरिक संवाद अवरुद्ध हुनु, पार्टीको क्षयको प्रारम्भ भएको माओवादी नेता लेखनाथ न्यौपाने बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ– ‘चौरासीको निर्वाचनमा माओवादीले गम्भीर क्षति बेहोर्न सक्छ यदि यस्तै राजनीतिक विचलन कायम रह्यो भने ।’
गुटबन्दी र विचारविहीनता
पार्टीभित्र दोस्रो दर्जाका नेताहरूबीच देखिएको गुटबन्दी र अवसरवादी स्वार्थले संगठन नै जर्जर बनाएको छ । पार्टी उपमहासचिव जनार्दन शर्मा भन्नुहुन्छ– ‘हामीले जसका लागि जनयुद्ध लड्यौं, तिनै लडाकु साथीहरू आज रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य छन् । यस्तो विसंगति हामी सबैका लागि लज्जास्पद हो । जनताको पक्षमा सशक्त वैकल्पिक शक्ति बन्ने अभीष्ट बोकेको पार्टी आफैंभित्र सामन्तवादको शैलीमा चलेको छ । निर्णय प्रक्रियामा केही सीमित अनुहारको चलखेल, आन्तरिक लोकतन्त्रको अपहरण हो ।’
आज नेकपा माओवादी केन्द्र संसद्को सबभन्दा कमजोर शक्तिजस्तो देखिएको छ । प्रमुख प्रतिपक्षी दलको भूमिकामा देखिनुपर्ने दृढता, प्रश्न र नेतृत्वको स्पष्टीकरणको माग हराएको छ । राजनीतिक विश्लेषक डा. किरणबाबु घिमिरे भन्नुहुन्छ– ‘संसद्मा माओवादीको उपस्थिति एउटा औपचारिकताजस्तो छ । नीति निर्माणमा हस्तक्षेप छैन, न त जनताको मुद्दामा नेतृत्वदायी भूमिका खेलिरहेको छ । भिजिट भिसा प्रकरणजस्तो गम्भीर मुद्दामा पनि माओवादी केन्द्रको अस्पष्ट, ढुलमुले र मौन व्यवहारले पार्टीभित्र नै आन्तरिक असन्तोष जन्माएको छ । विदेशिएको युवाशक्ति, बेचिएको नागरिकता र भ्रष्टाचारको सञ्जालमा माओवादीको मौनता आफैंमा दोषपूर्ण छ ।’
राजनीतिक विश्लेषक सूर्यमान थापा भन्नुहुन्छ– ‘आज माओवादीको अवस्था त्यो क्रान्तिकारी पार्टीको होइन, सुविधा र सत्ता टिकाउने समूहको जस्तो देखिन्छ । जहाँ अध्यक्षको स्वार्थ अनुकूल निर्णय हुन्छ, त्यो नै नीति बन्छ ।’ उहाँ थप्नुहुन्छ– ‘यो पार्टी अब न आन्दोलनको रह्यो, न त वैकल्पिक राजनीतिका लागि विकल्पकै रूपमा उभिनसक्ने शक्ति ।’
एमालेसँगको दुरी : फाइदा कि क्षति ?
पछिल्लो समय माओवादीको एमालेसँगको दुरीले वैचारिक स्वतन्त्रता दिन सक्ने अवसर भए पनि संगठनात्मक रूपमा भने क्षति पुगेको छ । २०७४ को वाम गठबन्धनमा प्राप्त बहुमत एमाले–माओवादी सहकार्यकै परिणाम थियो । अहिले त्यो सहकार्यको विच्छेदले न एमालेलाई बलियो बनायो न माओवादीलाई विकल्प शक्तिका रूपमा स्थापित ग¥यो । यस अवस्थाबाट बाहिर निस्कन माओवादी केन्द्रले जनजीविकाको मुद्दा उठान गर्ने, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यमा स्पष्ट जनमुखी नीति निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ ।
भ्रष्टाचारविरुद्ध कडा निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको छ । रवि लामिछाने वा माधव नेपालप्रति समर्थन होइन, सत्यको पक्षमा उभिने साहस गर्नुपर्ने देखिन्छ । आन्तरिक लोकतन्त्रको पुनःस्थापना, विचार, बहस, र आलोचनाको सम्मान गर्ने कार्यसंस्कृति विकास गर्नुका साथै विदेश गएका कार्यकर्ताहरूलाई पुनः जोड्ने कार्यक्रम, श्रमिक युवाशक्तिलाई पार्टी निर्माणमा सक्रिय बनाउने काममा लाग्नुपर्ने देखिन्छ ।
सत्ता मोहभन्दा सिद्धान्तप्रति प्रतिबद्धता जनाउँदै सत्ता छैन भने पनि जनता हुन्छन्, तर विचार छैन भने पार्टी नै रहँदैन भन्ने सिद्धान्तलाई माओवादीले अवलम्बन गर्नुपर्ने देखिन्छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै नेतृत्वमा हुनुहुन्छ तर उहाँको सोच, नीति र शैलीमा गम्भीर आत्मपरीक्षण नआए माओवादी इतिहासको एक अध्याय बन्नेछ, वर्तमानको शक्ति होइन ।
पार्टीलाई पुनर्जीवन दिन नेतृत्वले आदर्श होइन, व्यवहारमा परिवर्तन देखाउनुपर्ने छ । जनताले हेर्दैछन्, हिजो जनयुद्धमा उभिएको पार्टी आज कहाँ छ । र यदि उत्तर फेला परेन भने चौरासीको निर्वाचनमात्र होइन, जनताले माओवादीलाई सधैंका लागि इतिहासको एउटा पुस्तकमा सीमित गरिदिन सक्छन् ।











प्रतिक्रिया