त्रिविमा बेथितिको चाङ

2.73k
Shares

–अध्ययन संस्थान, संकाय, डिनको कार्यालय, केन्द्रीय विभाग, अनुसन्धान केन्द्रले गराएनन् लेखा परीक्षण

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीको कारण बेथितिको चाङ बढ्दै गएको छ । त्रिविअन्तर्गत ५ अध्ययन संस्थान, ४ संकाय, ६२ आंगिक क्याम्पस, ४ अनुसन्धान केन्द्र, ४ शिक्षण स्कुल र १ हजार ५३ सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांश निकायमा समस्या देखिएको छ ।विश्वविद्यालयमा प्राप्त आयलाई धरौटी तथा दायित्वमा राखी खर्च गर्ने गरेको पाइएको छ । त्यस्तै, अधिकांश निकायले बैंकको हिसाब मिलान विवरण तयार नगरेको र हिसाब मिलान गरेका निकायले हिसाब समायोजन नगरेको, पँुजीगत सम्पत्ति केन्द्रीय लगतमा नराखेको जस्ता अनियमिततको चाङ देखिएको छ ।

भागबण्डाको राजनीतिमा आश्रित त्रिविमा पदाधिकारीकै कारण समस्या बढ्दै गएको शिक्षक कर्मचारीको आरोप छ । पदाधिकारीहरू बेथिति अन्त्य गर्नेभन्दा पनि पद जोगाउन लागि परेको आरोप कर्मचारीको छ । यद्यपि, त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले बेथिति बढे पनि बिस्तारै घटाउने रणनीतिमा लागेको बताउनुभयो ।

व्यावसायिक जग्गा लिज र भाडामा दिएवापत भाडा उठाउन नसक्नु त्रिविको अर्को कमजोरी रहेको छ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरलाई लिजमा दिएको १० रोपनी १३ आना ३ पैसा क्षेत्रफलमा बनेको संरचनाको भाडा उठाउन सकेको छैन । ३० वर्षको लागि लिजमा दिइएको जग्गामा व्यावसायिक भवन छ । वि.सं. २०५९ माघ २ गते लिजमा लिने सम्झौता गरेको सेन्टरले लिजमा लिएवापत अझै २ करोड ८७ लाख रुपियाँ भाडा तिर्नुपर्ने बाँकी छ । तर, त्रिविले सो भाडा उठाउन सकेको छैन । त्यस्तै जग्गाको उपयोग र संरक्षण गर्न त्रिवि चुकेको छ ।

त्रिवि कार्यकारी परिषद्बाट वि.सं. २०७२ चैत ४ गते गठित विश्वविद्यालय र त्रिविअन्तर्गतका इकाईहरूको भौतिक सम्पत्ति खोज, संकलन, जगेर्ना र अभिलेखीकरण गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न त्रिवि असफल भएको छ । प्रतिवेदनमा त्रिवि र मातहतका निकायको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३७ हजार वर्गमिटर, भोकाधिकारमा ९ लाख ९९ हजार र अन्य ६ लाख ५३ हजार वर्गमिटर जग्गासमेत गरी १ करोड ४७ लाख ८९ वर्गमिटर जग्गा रहेको उल्लेख छ ।

तीमध्ये कतिपय स्थानमा अतिक्रमण भएको, नियमित रूपमा कुत र भाडा नउठेको, भोगचलन रहे तापनि पूर्ण स्वामित्वमा नआएको, त्रिविको जग्गामा अन्य निकायले निर्माण गरेका भौतिक संरचनाको हकभोग नभएको, वागमती किनारमा एक संस्थाले भोगचलन गरेको जग्गा फिर्ता लिन नसकेको उल्लेख छ । सबै बेथितिको सूची बनाएर महाललेखा परीक्षक कार्यालयले दिँदासमेत त्रिविले बेवास्ता गरेको छ ।

पद जोगाउन र राजनीतिक दलको पछि लाग्न पल्केका पदाधिकारीले त्रिविभित्र देखिएको विकृति र विसंगति अन्त्य गर्न सकेको छैन । महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा त्रिविले महालेखालाई गुमराहमा राखेका आफूअनुकूल काम गर्न खोजेको जस्तो देखिएको छ । प्रतिवेदनमा त्रिविअन्तर्गत उपत्यकाका २२ मध्ये झण्डै १९ क्याम्पसले प्रतिवेदन बुझाएका छैनन् भने त्रिविअन्तर्गतका कुल १ सय ५ निकायले विवरण पेस गरेका छैनन् ।

तीमध्ये अध्ययन संस्थान, संकाय, डिनको कार्यालय, केन्द्रीय विभाग, र अनुसन्धान केन्द्रले लेखा परीक्षण गराएका छैनन् । शिक्षण अस्पताल, त्रिचन्द्र, थापाथली, चिकित्सा शिक्षा अध्यन संस्थान डिनको कार्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, कानुन संकाय डिनको कार्यालय, वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालय, कृषी डिनको कार्यालय, मानविकी तथा सामाजिक सास्त्र संकाय डिनको कार्यालय, इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण कार्यालय, शिक्षा शास्त्र संकाय डिनको कार्यालयलगायत अघिकांश निकायको भने लेखापरीक्षण भएको छ । उपत्यकका करिब १५ भन्दा बढी क्याम्पसको लेखापरीक्षण हुन सकेको छैन ।

त्रिवि कार्यकारी परिषद्को कमजोर निर्णयको कारण मातहतका कुनै पनि निकायको लेखा परीक्षण हुन नसकेको हो । त्यसले गर्दा त्रिविको साख गिरेको छ । त्यस्तै, परीक्षाफल प्रकाशित भएको सय दिनभित्र परीक्षाफल प्रकाशित गर्ने निर्णय कार्यकारी परिषद्ले गरेको थियो । तर, त्यसविपरीत परीक्षाफल प्रकाशित गर्न २ सय ४ दिनदेखि ४ सय दिनसम्म लागेको प्रतिवेदनमा उल्लेख छ । पनिकाले बैंक हिसाब मिलान नगरेको गम्भीर विषय पनि उठाउँदै भनेको छ– ‘बैंक हिसाब मिलान नगरेको खण्डमा छानबिन गरी बैंकमा घटी देखिएको रकम असुल गर्नुपर्छ ।’