पल र बेनिशाको झुम झुम झुम्की


आगामी साउन २३ गते रिलिजमा आउने फिल्म मोहरमा समावेश गीत झुम झुम झुम्किका सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द रचना र एसडी योगीको संगीत रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको छ। गीतको भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन् भने उनीहरूबीचको नोकझोक पनि देखाइएको छ। भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। गीतको भिडियोमा पलले लामो कपाल पालेका छन्। गीतमा फिल्मकी मुख्य कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मालाई पनि प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक फिल्मको शीर्ष गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीलाई प्रस्तुत गरिएको थियो।

फिल्म मेकर्स प्रालिको ब्यारनमा चुम्बनजंग शाहीद्वारा निर्मित फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीलगायतका कलाकार पनि मुख्य भूमिकामा छन्।
देउकी प्रथाको कथामा बनेको फिल्ममा सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत, कुमार महर्जनको एक्सन र दिपेन बस्न्यातको छायांकन रहेको छ।