काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो र विमानस्थल सुरक्षा कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा भारतीय नागरिकलाई राति करिब ११ बजे पक्राउ गरेको हो ।
ती नागरिक भारतको मुम्बईबाट बैंकक हुँदै काठमाडौं आउने क्रममा थिए । उनले आफ्नो लगेजभित्र विशेष ढंगले लुकाएर राखेको ६ दशमलव ५ किलो सेतो हेरोइन फेला पारिएको प्रहरी व्युरोले जानकारी दिएको छ ।

रंगेलीबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
व्युरोले र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले मोरङको रंगेलीबाट थप तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हनसिया खातुन, सुनुशिल बुढाथोकी र कृपानन्द ठाकुर रहेका छन ।
उनीहरूको साथबाट ४०० ग्राम खैरो हेरोइन र तस्करीमा प्रयोग भएको एक राउन्ड हवाई राइफल समेत बरामद गरिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारवाही प्रक्रिया अघि बढाइएको छ ।
घटनाले नेपाललाई लागूऔषध ओसारपसारको ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गर्ने विदेशी गिरोहहरूको सञ्जाल सक्रिय रहेको पुष्टि गरेको प्रहरीको भनाइ छ ।
सशक्त निगरानीको खाँचो
नेपालको भौगोलिक अवस्थाको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय लागू औषध कारोबारीले यहाँलाई ‘रूट’ बनाउने गरेको प्रहरीको बुझाइ छ ।
प्रहरी स्रोतका अनुसार, यस्ता गिरोहहरू एयर रुट, सीमावर्ती क्षेत्र तथा आन्तरिक बजारमार्फत लागुऔषध भित्र्याउने प्रयासमा छन्।
नेपालमा लागुऔषध कारोबारको बढ्दो गतिविधि राष्ट्रिय सुरक्षामाथि गम्भीर चुनौती बन्न थालेको छ।
प्रहरीले यस्ता अपराधमाथि निगरानी कडा बनाउँदै कारवाही तेज पार्ने जनाएको छ । साथै, सीमा नाकामा सतर्कता, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय सुरक्षा निकायसँग समन्वय आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ ।











प्रतिक्रिया