पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत उत्तीर्ण: नर्सिङ शिक्षा प्रणालीमाथि प्रश्न


काठमाडौँ।

स्वास्थ्य व्यवसाय परिषद्ले लिएको ३९ औँ प्राविधिक प्रमाणपत्र तह (पीसीएल) नर्सिङ लाइसेन्स परीक्षामा १९ दशमल्भ ४३ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । यो नतिजा विगत केही वर्षयताकै सबैभन्दा कम हो, जसले नेपालको नर्सिङ शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
परीक्षा गत असार १७ र १८ गते सम्पन्न भएको थियो । परिषद्को अनुसार कुल ९११ जनाले परीक्षा दिएका थिए, जसमध्ये जम्मा १७७ जनाले मात्र उत्तीर्ण प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपालमा नर्सिङ पेशालाई औपचारिक रूपमा नियमन गर्न २०५२ सालमा स्वास्थ्य व्यवसाय परिषद् स्थापना गरिएको थियो । त्यसअघि विभिन्न संस्थाबाट नर्सिङ शिक्षा लिएकाहरूलाई सीधै रोजगारमा समावेश गरिन्थ्यो, तर कुनै औपचारिक नाम दर्ता (लाइसेन्स) प्रणाली थिएन । परिषद् गठनपछि नर्स, ल्याब टेक्निसियन, फार्मासिस्ट जस्ता स्वास्थ्यकर्मीहरूले अनिवार्य रूपमा लाइसेन्स परीक्षा उत्तीर्ण गर्नु पर्ने व्यवस्था लागू गरियो ।

पीसीएल नर्सिङ — जुन एसएलसी-एसईई पछि तीन वर्षे प्राविधिक शिक्षा हो । नेपालको ग्रामीण र सहरी दुवै क्षेत्रका स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको मुख्य स्रोत रहँदै आएको छ । विगतमा यस कार्यक्रममार्फत हजारौँ युवायुवती स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका छन् ।

स्वास्थ्य व्यवसाय परिषद्को तथ्यांकअनुसार अघिल्लो सबैभन्दा कमजोर नतिजा २०७९ चैतमा भएको ३३ औँ लाइसेन्स परीक्षामा आएको थियो । त्यतिबेला पीसीएल तहमा मात्र २६ प्रतिशत परीक्षार्थी उत्रिर्ण भएका थिए । अहिलेको नतिजाले त्यो भन्दा ७ प्रतिशतले घटेको देखिन्छ ।

यसले नर्सिङ शिक्षा दिने संस्थाहरूमा गुणस्तर र अनुगमन कमजोर छ भन्ने संकेत गर्दछ । स्वास्थ्य विज्ञहरू भन्छन्, “शैक्षिक संस्थाहरूको अनुगमन, प्रयोगात्मक तालिमको अभाव, दक्ष प्रशिक्षकको कमी र विद्यार्थीको आधारभूत तयारीको अभावले यस्तो अवस्था सिर्जना भएको हो ।”

पीसीएलको तुलनामा बीएस्सी, बीएमएस र विशेषज्ञ नर्सहरूको नतिजा भने राम्रो देखिएको छ । परिषद्की प्रशासकीय अधिकृत रेखा गिरीका अनुसार, बीएस्सी नर्सिङतर्फ ३२७ परीक्षार्थीमध्ये २०३ जना सफल भएका छन् (६२.०८ प्रतिशत)। बीएमएसमा ५१ जनामध्ये ४२ जना (८२.३५ प्रतिशत) तथा विशेषज्ञ नर्सतर्फ २७४ जनामध्ये १७५ जना (६६.८७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

विशेषज्ञ नर्सहरूका लागि यसअघि वर्षमा एकपटक मात्रै परीक्षा हुने गथ्र्यो, त्यो पनि अबदेखि भने अन्य तह सरह वर्षमा तीनपटक परीक्षा सञ्चालन गरिने परिषद्ले जनाएको छ । “अब चार–चार महिनामा परीक्षा हुनेछ, जसले परीक्षार्थीलाई अवसरमा पहुँच बढाउनेछ । आगामी कात्तिकमै अर्को परीक्षा सञ्चालन गर्ने तयारी छ ।”

विगत दुई दशकमा नर्सिङ शिक्षाको व्यापक विस्तार भएपनि गुणस्तर भने समानान्तर रूपमा वृद्धि हुन सकेको छैन । हाल देशभर करिब १५० भन्दा बढी संस्थाहरूले पीसीएल नर्सिङ पढाउँदै आएका छन्, तर अधिकांश संस्थामा पूर्वाधार, प्रशिक्षक र क्लिनिकल तालिममा कमजोरी रहेको व्यापक आलोचना हुँदै आएको छ ।

स्वास्थ्य शिक्षा विज्ञ डा. रमा केसी भन्छिन्, “हामीले संख्या बढाउने कुरामा मात्रै ध्यान दियौं, गुणस्तरमा होइन । अहिलेको नतिजा त्यसैको परिणाम हो ।”
सरकारले २०८० सालदेखि पीसीएल नर्सिङ कार्यक्रमलाई क्रमशः बन्द गर्दै बीएस्सी नर्सिङतर्फ केन्द्रीत गर्ने नीति लिएको छ । तर तिनका लागि पहुँच, शुल्क र पूर्वतयारीको चुनौती अझै कायमै छ ।

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको यो कमजोर नतिजा नेपालमा स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिकामाथि गम्भीर असर पार्न सक्छ । अब शिक्षा नीतिमा सुधार, संस्था अनुगमनको सुदृढीकरण र विद्यार्थीको स्तरीय तयारीमा जोड दिनु आवश्यक देखिन्छ । नत्र, स्वास्थ्य सेवाको पहिलो पंक्तिमा खटिने नर्सहरूको दक्षतामै प्रश्न उठ्ने खतरा अझ बढ्नेछ ।