सर्लाही ।
जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव अदालतको पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन्। सर्लाही जिल्ला अदालतले शुक्रबार यादवविरुद्ध आपराधिक उपद्रोको अभियोगमा पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग टेलिफोन कुराकानीको क्रममा गालीगलौच गरेपछि जिल्ला अदालतले यादवमाथि कानुनी कारबाही अघि बढाएको हो। अदालतको आदेशपछि कविलासी नगरपालिका–१०, सलेमपुर निवासी यादवको खोजीमा प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले शनिबार बिहानसम्म यादव पक्राउ नपरेको जानकारी दिनुभयो। उहाँका अनुसार यादवको सम्भावित ठेगानाहरूमा प्रहरी तैनाथ गरिएको छ।
पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई पक्राउ गर्न मलङ्गवास्थित प्रहरी कार्यालयमा विभिन्न युनिटबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बिहीबार राति यादवलाई पक्राउ गर्न खोज्दा स्थानीय समर्थकले प्रहरी गाडीमा तोडफोड र अवरोध गरेको जनाइएको छ। यसै कारण उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरी स्रोतले जनाएको छ।
टेलिफोनमा एसपी खड्कासँग भएको तीव्र विवाद र गालीगलौचको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। विवादको मूल कारण पूर्वाधार विकास कार्यालयमा भएको भनिएको आर्थिक अनियमितता र त्यसमा प्रहरीले सुरक्षा दिएको विषय रहेको जनाइएको छ। यादवले कार्यालय प्रमुख विजय यादवमाथि राति अनियमित ढंगले चेक काट्ने आरोप लगाउँदै प्रहरी प्रशासनमाथि पनि आक्रोश व्यक्त गर्नुभएको थियो।
असार १२ गते उक्त कार्यालयमा योजनाको फाइल जबरजस्ती लिएर गएको आरोप यादवमाथि लागेपछि कार्यालयमा स्थायी प्रहरी तैनाथ गरिएको डिएसपी राईले बताए। योजना विक्री, भुक्तानीलगायतका कार्यमा आर्थिक चलखेल हुने गुनासोपछि प्रहरीले सुरक्षा बढाएको हो।
यादवले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू जनताको आवाज उठाउँदा फसाउने षड्यन्त्र भएको दाबी गर्नुभएको छ। उहाँको पार्टी जसपाले पनि शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले यादवमाथि दुर्व्यवहार गरेको, र मध्यराति डाका शैलीमा घरभित्र पसेको आरोप लगाएको छ। विज्ञप्तिमा दोषी प्रहरी प्रमुखले माफी माग्नुपर्ने माग गरिएको छ।











प्रतिक्रिया