लमजुङ।
लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा गण्डकी प्रदेशकै पहिलो बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषित भएको छ । ‘सुन्दरबजार नगरपालिकाको शान—बालमैत्री तथा पोषणमैत्री नगर हाम्रो अभियान’ भन्ने नाराका साथ शुक्रवार आयोजित विशेष कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद कोइरालाले वडालाई औपचारिक रुपमा घोषणा गरेका हुन् ।
नगरप्रमुख कोइरालाले बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन प्रणालीलाई दिगो बनाउन सबै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउँदै, यस अभियानले बालअधिकारको संरक्षण, आवश्यक लगानीको सुनिश्चितता तथा बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
उनका अनुसार जिल्लाका अन्य केही वडाहरु बालमैत्री घोषित भए पनि बालमैत्री र पोषणमैत्री दुवै विशेषता सहितको वडा नं.२ प्रदेशमै पहिलो हो ।
वडा अध्यक्ष नविनकुमार श्रेष्ठले वडाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकहरु र पोषणमैत्री घोषणाका लागि आवश्यक ३४ सूचकहरु पूरा गरेको जानकारी दिए । ती सूचकहरुमा पाँच वर्ष मुनिका बालबालिकाको शत प्रतिशत जन्मदर्ता, विद्यालय उमेर समूहका सबै बालबालिकाको विद्यालय पहुँच, बालविवाहको शून्य दर, बालश्रममुक्त वातावरण, सबैले पूर्ण खोप प्राप्त गर्नु, पोषणयुक्त दिवा खाजा, छात्रवृत्ति वितरण, बालमैत्री कक्षाकोठा लगायतका कार्यहरु समावेश छन् ।
स्वास्थ्य चौकीबाट नियमित मातृ तथा शिशु सेवा, किशोरी लक्षित महिनावारी शिक्षा, पोषण स्थिति परीक्षण लगायत कार्यक्रमहरु पनि नियमित सञ्चालन हुँदै आएका छन् । पोषणमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८ अन्तर्गतका सबै सूचकहरु पूरा गरिएकाले पोषणमैत्री घोषणा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उक्त अभियानमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपाल तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा भएको हो । कार्यक्रम सुरु हुनु अघि झाँकी र बाजागाजा सहित वडा कार्यालयबाट भगेरथानसम्म र्याली निकालिएको थियो । जसमा जनप्रतिनिधि, कर्मचारी, आमा समूह, बाल क्लब तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नगरपालिकाले सबै वडाहरुलाई क्रमशः बालमैत्री तथा पोषणमैत्री वडामा परिणत गर्ने र आगामी दिनमा सिङ्गो नगरलाई बालमैत्री तथा पोषणमैत्री नगरपालिका घोषण गर्ने लक्ष्य लिएको जनाएको छ ।
वडामा पोषण तथा बालअधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर, पोषण शिक्षा तालिम, विद्यालय पोषण बगैंचा, सामुदायिक सरसफाइ अभियानलगायत कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस्ता कार्यक्रमहरुको प्रभावस्वरुप वडा नं २ ले पोषण र बालअधिकारका क्षेत्रमा अनुकरणीय उपलब्धि हासिल गरेको वडा कार्यालयको भनाइ छ ।
कार्यक्रमको अन्त्यमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि कुनै पनि परिस्थितिमा निरन्तर प्रयासरत रहने संकल्पका साथ हस्ताक्षर गरिएको थियो ।
प्रतिक्रिया