नेपालको विद्यालय शिक्षालाई आधारभूत र माध्यमिक गरी दुई तहमा बाँडिएको छ। कक्षा १ देखि ८ सम्मको कक्षालाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा भनिएको छ। माध्यमिक शिक्षा साधारण, परम्परागत र प्राविधिक तथा व्यावसायिक गरी तीन प्रकारको हुने भनिएको छ।
माध्यमिक शिक्षाको प्राविधिक तथा व्यावसायिक धार तर्फ थप एकवर्ष अवधिको व्यावहारिक अभ्यास समेटिएको छ। बाल मनोविज्ञान, विद्यार्थीको उमेर तथा सिकाइ क्षमता स्तरका आधारमा विद्यालय शिक्षाको तहगत र कक्षागत खाका बनाइएको छ। माध्यमिक शिक्षा पाठ्यक्रम २०७७ का अनुसार माध्यमिक शिक्षा(९–१२)ले विद्यार्थीहरूमा ज्ञानको खोजी गरी सिकाइ र वास्तविक जीवन बिच सम्बन्ध स्थापित गर्ने, सिद्धान्त र व्यवहारको समन्वय गर्ने, स्वपरावर्तित हुँदै ज्ञान, सिप र क्षमतालाई अद्यावधिक गर्ने, अधिकार, स्वतन्त्रता र समानताको प्रवर्धन गर्ने, स्वस्थजीवनको अभ्यास गर्ने, तार्किक विश्लेषण गरी निर्णय गर्ने, वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा सरिक हुने, सक्षमताको विकास गर्ने भनिएको छ।
विद्यार्थीमा नैतिक आचरण प्रदर्शन गर्ने सामाजिक सद्भावप्रति संवेदनशील हुने, पर्यावरणीय सन्तुलतप्रति संवेदनशील हुने, द्वन्द्व व्यवस्थापन गर्दै दिगो शान्तिका लागि प्रतिवद्ध रहने सक्षमताको विकास हुने पनि अपेक्षा गरिएको छ।
यस तहको शिक्षाबाट आधुनिक ज्ञान, सिप, सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने, स्वावलम्बी र व्यवसायमुखी सिपको अभ्यास गर्ने, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्ने, समाज स्विकार्य आचरण र कार्य संस्कृतिको अवलम्बन गर्ने, सहिष्णु भाव राख्ने सक्षमता भएको नागरिक तयार गर्ने साथै सिर्जनशील, कल्पनाशील, उद्दमशील एवं उच्च सोच र आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल व्यवस्थापन गर्ने लगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील एवं समावेशी समाजनिर्माणमा योगदान गर्न सक्ने सक्षमता सहितको नागरिक तयार गर्नु माध्यमिक शिक्षाको लक्ष्य रहेको छ।
यी सक्षमतासँगै माध्यमिक शिक्षाले उच्च तहमा अध्ययनको आधार विकास गर्ने अपेक्षा समेत गरिएको छ। कक्षागत तह पार गरिसकेपछि यी माथिका सक्षमता हासिल भए भएनन् भनेर आँकलन गर्न सक्नुपर्छ। माध्यमिक तहमा कक्षा १० र कक्षा १२ को अन्तिम मूल्याकंनलाई विशेष महत्वका साथ हेरिएको छ। माध्यमिक तहको अन्तिम तहकक्षा १२ लाई मानिए पनि कक्षा १० को अन्तिम नतिजाले कक्षा ११ र १२ मा अध्ययन गर्न र उच्च तहमा अध्ययन गर्ने आधार खडा गर्न मद्दत पु¥याउने भएको साथै विगतका वर्षहरूमा कायम रहेको परीक्षाको महत्वले विशेष अर्थ राख्दै आएको छ। कक्षा १० र कक्षा १२ को नतिजास“गै माथि उल्लेख गरिएका सक्षमताहरू विद्यार्थीहरूले हासिल गरेका छन् कि छैनन् ? परीक्षाका माध्यमबाट यी सक्षमता मापन गर्न सकिएको छ कि छैन ? विद्यार्थीहरूको विषयगत रूपमा प्राप्त ग्रेड र समग्र नतिजामा प्राप्त भएको जीपीएले वास्तविक सक्षमतासँग तालमेल राख्न सकेको छ कि छैन ? अझै धेरै अध्ययन, विश्लेषण गर्न आवश्यक छ। तर अहिले यहा“ हालै प्रकाशित एसईईको गतवर्ष भन्दा आशातीत नतिजा प्राप्त भएको सन्दर्भमा टिप्पणी गर्ने प्रयास गरिएको छ।
नेपालको शिक्षा प्रणालीको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि ल्याउनु नै हो। विद्यालयको कक्षागत एवं तहगत सक्षमता हासिल गर्न सक्ने विद्यार्थी उत्पादन नै मुख्य ध्येय हो। प्रत्येक वर्ष कक्षा १० एवं कक्षा १२ को नतिजासँगै सिकाइ उपलब्धिको लेखाजोखा गर्न विभिन्न सरोकारवाला व्यक्ति, शिक्षाविद्हरूले टिप्पणी गरिरहेको हामीले देखिरहेकै छौँ।
भर्खरै प्रकाशित एसईईको नतिजासँगै केही विश्लेषणात्मक र केही त्यतिकै अनुमानको भरमा गरिएका टिप्पणीहरू हामीले सुन्दै आएका छौँ। गतवर्ष ४७ दशमलव ८८ प्रतिशत विद्यार्थीहरूको नतिजामा ग्रेडेड देखिएको र यस पटक एसईईको नतिजामा ६१ दशमलव ८२ प्रतिशत ग्रेडेड आएको छ। वर्षेैपिच्छे नतिजाको विश्लेषण गर्दा पनि मुलुकको शिक्षा पद्धतिमा सिकाइ उपलब्धि सन्तोषजनक भएको पाउन सकिएको अवस्था छैन। यस वर्षको नतिजा हेर्दा केही आशाका किरण देखिए पनि सन्तुष्टि मानेर चुपलाग्ने स्थिति आउनु हुँदैन। अबका दिनहरूमा सिकाइ उपलब्धिमा सुधार ल्याउन सरोकारवाला व्यक्तिहरू निरन्तर लागि रहनु पर्दछ।
वास्तवमा शैक्षिक गुणस्तर कायम गर्ने कार्य निरन्तर चलिरहने प्रक्रिया हो। विद्यालय शिक्षामा गुणस्तर ल्याउन मुख्यतः विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धले प्रमुख भूमिका खेल्दछ। कक्षा कोठादेखि नै विद्यार्थी मूल्याकंन प्रक्रियालाई सुधारात्मकरूपमा निरन्तरता दिँदै जवाफदेही ढंगबाट सिकाइसँग जोड्न हरदम शिक्षक तयार हुने हो भने सिकाइ सुनिश्चित गर्न मद्दत पुग्दछ।
सामान्यतया पाठ्यक्रम तयार गर्दा विद्यार्थीको उमेर, क्षमता, रूची तथा आवश्यकताका आधारमा कक्षागत, विषयगत र तहगत सक्षमता निर्धारण गरिएको हुन्छ। सोही अनुसार पठनपाठन र मूल्याकंन पद्धतिलाई सिकाइसँग जोड्न सकिएमा आशा गरे अनुरूप तहगत सक्षमता हासिल गर्न र उल्लेख नतिजा ल्याउन सकिन्छ। भर्खरै प्रकाशित एसईईको नतिजाले पनि यही कुरालाई पुष्टि गर्दछ।
गत सालको खस्किएको नतिजालाई लिएर राज्यका उच्च अधिकारी देखि सरोकारवाला सबैको चासो र चिन्ताको विषयले शैक्षिक सुधारका लागि केही न केही पहल भएको देखिएको पनि छ । शैक्षिक उपलब्धिमा विद्यालयको जवाफदेहिता गाँसिएका सन्दर्भले पनि विद्यार्थीको सिकाइ अभिवृद्धि गर्न मिहिनेत साथ लाग्न मद्दत पुगेको हो जस्तो लाग्छ। अबका दिनमा समेत विद्यार्थीहरूको पढाइलाई लिएर सम्बद्ध पक्षहरूका बिच आवश्यक छलफल चलाउने, विद्यार्थीको सिकाइप्रति सदैव सचेत रहने गर्दा पनि सिकाइ सुधार गर्न मद्दत पुग्दछ।
विद्यार्थीहरूको सिकाइ उपलब्धिका लागि विद्यालयको भूमिका नै प्रमुख रहन्छ। यसमा पनि उच्च सिकाइ उपलब्धि हासिल गर्नमा सबैभन्दा महत्वपूर्ण भूमिका विषयशिक्षकको रहेको देखिन्छ। तालिमप्राप्त योग्य र दक्ष शिक्षकले उन्नत शैक्षणिक कौशलका साथ विद्यार्थीहरूलाई सिकाइमा आबद्ध गराउन सक्छन्।
विद्यालयको शिक्षा सम्बन्धमा धेरै बहस र छलफल हुँदै आएका छन्। राष्ट्रिय शिक्षानीति, विभिन्न समयमा गठन भएका आयोग र समितिहरूको सुझावहरू, विभिन्न समयमा गरिएका अध्ययन अनुसन्धानका तथ्यहरूलाई आधार मान्दै विद्यालयतहको शिक्षा सुधारका लागि पहल हुँदै आएको पनि छ। तथापि आशातीत प्रतिफल पाउन सकिएको छैन। यसपालीको नतिजाले केही फरक अनुभूति दिलाएको भने पक्कै छ।
तर पनि ठयाक्कै कस्तो खालको सुधार र कसरी नतिजामा बढोत्तरी भयो भन्ने सन्दर्भमा थप अध्ययन, अनुसन्धान गरेर आगामी दिनका लागि थप पहल गर्न आवश्यक छ। विगत वर्षहरूका नतिजा विश्लेषण गर्दा कुनै वर्ष नतिजा बढेर अर्को वर्ष ह्वात्तै नतिजा खस्किएको अवस्था पनि छ।
तैपनि यसपालिको सरसर्ती नतिजा हेर्दा सबैको चासोले विद्यालयको जवाफदेहिता बढेको भने पक्कै हो जस्तो लाग्छ। नतिजा सुधारका लागि पहिलो पहल विद्यालयले नै गर्ने हो। अहिलेको समग्रको नतिजा विषयगत, क्षेत्रगत, सक्षमतागत रूपमा समेत अध्ययन गरेर विश्लेषण गर्देै आगामी दिनका लागि थप सुधारको व्यवस्था मिलाउनु पर्दछ।
विद्यार्थीहरूको शैक्षिक उपलब्धि हासिल भए नभएको हेर्न मूल्यांकनका विभिन्न साधनहरू मध्ये परीक्षा प्रमुखरूपमा रहन्छ। वैध र विश्वसनीय परीक्षाका माध्यमबाट प्राप्त भएको नतिजाबाट वास्तविक शैक्षिक उपलब्धि प्राप्त गर्न मद्दत पुग्दछ। शैक्षिक उपलब्धिको आधारमा भावी दिनहरूमा सिकाइ सुधार, पाठ्यक्रम परिमार्जन, शिक्षण कौशलमा विविधता एवं जवाफदेहिता बहन गर्न समेत मद्दत पुग्दछ। शैक्षिक प्रणालीलाई गुणस्तरीय बनाउन सिकाइ प्रक्रिया र स्तरीय परीक्षा प्रणाली हुन आवश्यक छ। विश्वसनीय परीक्षा प्रणालीले विद्यार्थीहरूको क्षमता र योग्यताको वास्तविक आँकलन गर्न र सिकाइ उपलब्धिलाई निर्धारण गर्न मद्दत पुग्दछ।
समग्रमा विद्यार्थीको सिकाइ बढ्नु र नबढ्नुको लागि शैक्षिक प्रणालीमा आवद्ध जिम्मेवार निकायहरूका साथै मुख्यतः विद्यालयका शिक्षकहरूले जिम्मालिनु पर्दछ। विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन समय सापेक्ष कानुनको निर्माण, योजनाबद्ध शैक्षिककार्य योजना र जिम्मेवारीको आवश्यकता पर्दछ।
जतासुकैबाट एक अर्कालाई दोष थुपारेर बस्नु भन्दा पनि शैक्षिक गतिविधिमा लाग्ने जोसुकैले विद्यार्थीको सिकाइ सुधारका लागि पहल गर्नु पर्दछ। विद्यालयभित्रको सिकाइ सुधारमा शिक्षकको क्रियाकलाप र शिक्षण शैलीले अझ विशेष महत्व राख्ने गर्दछ। यसर्थ शिक्षा प्रणालीभित्र बाँधिएका जनशक्तिहरूले जवाफदेहिता पालन गर्ने गरी कार्य गर्न अग्रसर हुनुपर्दछ। औचित्यपूर्ण किसिमले विद्यार्थीको सिकाइ सुधारका लागि पहल गर्दैै एक आपसको समन्वय र सहकार्यमा अगाडि बढ्दै जाने हो भने पक्कै आशातीत नतिजा आउनेमा विश्वस्त हुन सकिन्छ जस्तो लाग्छ।











प्रतिक्रिया