बहुभाषिक माध्यमबाट सिकाउने पहिलो विद्यालय जगतसुन्दर ब्वनेकूथि


प्रा. डा चुन्दा बज्राचार्य नेपालभाषामा विद्यावारिधी गर्ने पहिलो महिला हुनुहुन्छ। सानै उमेरदेखि भाषिक समानताको आन्दोलनमा लाग्नुभएका बज्राचार्य एक अन्वेषकसँगै विद्यालयस्तरदेखिको शिक्षणपद्धतिमा मातृभाषाको माध्यम र बहुभाषिक शिक्षणपद्धतिलाई जोड दिँदै आउनुभएको छ। २०४७ सालको संविधानमा मातृभाषाबाट प्रत्येक नागरिकलाई प्राथमिक शिक्षासम्म पठनपाठन गर्न हक हुनेछ भनि प्रावधानलाई राख्न अगुवाई गरेका बज्राचार्य नेपालभाषाको माध्यमबाट पढाउने पहिलो विद्यालय जगत सुन्दर ब्वनेकूथिका संस्थापक समेत हुनुहुन्छ। हाल ब्वनेकूथिको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका बज्राचार्यसँग सो विद्यालयमा कक्षा ११ को पढाइ सञ्चालन गर्ने तयारीसँगै विद्यालयका पठनपाठनबारेमा नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानी :

२०४७ सालको संविधानमा प्राथमिक तहसम्म मातृभाषामा पढ्न पाउने अधिकार हुन्छ भन्ने संवैधानिक प्रावधान यस विद्यालयको स्थापना भएपछि पहिलोचोटी कार्यान्वयनमा आएको थियो। अहिले पनि नेपालमात्र नभई अन्तर्राष्ट्रिय रूपमा मातृभाषाको पढाइको सन्दर्भमा आउ“दा यो विद्यालयलाई एउटा उदाहरणको रूपमा लिने गरेको छ।

यो सत्रमा ११ कक्षाको पठनपाठन शुरू गर्ने छौँ, भने अर्को वर्ष १२ कक्षा सञ्चालन हुनेछ। यस विद्यालयमा नेपालभाषाको एउटा विषयसँगै मानविकी, व्यवस्थापन र कम्प्युटर विषय पढाइनेछ। यसका लागि पूर्वाधार, शिक्षक शिक्षिकादेखि अन्य सम्पूर्ण तयारी पूरा भइसकेको छ।

जगतसुन्दर ब्वनेकूथिमा ११ कक्षाको पढाइ अहिले शुरूआत गर्नुपर्ने कारण के हो ?
हाल काठमाडौं महानगरपालिका– १५ डल्लु, चागलमा रहेको जगतसुन्दर ब्वनेकूथि नेपालभाषाको माध्यमबाट पढाउने पहिलो विद्यालय हो। त्यतिमात्र नभई मातृभाषाबाट विद्यार्थीहरूलाई शिक्षा दिएमा विद्यार्थीहरूले चाँडै बुझ्ने गर्छन् भन्ने सैद्धान्तिक मान्यतालाई व्यावहारिक प्रयोगमा ल्याउने थलो पनि यही हो। २०४७ सालको संविधानमा प्राथमिक तहसम्म मातृभाषामा पढ्न पाउने अधिकार हुन्छ भन्ने संवैधानिक प्रावधान यस विद्यालयको स्थापना भएपछि पहिलोचोटी कार्यान्वयनमा आएको थियो। अहिले पनि नेपालमात्र नभई अन्तर्राष्ट्रिय रूपमा मातृभाषाको पढाइको सन्दर्भमा आउँदा यो विद्यालयलाई एउटा उदाहरणको रूपमा लिने गरेको छ। यसक्रममा हरेक स्कुलमा १२ कक्षासम्म पढाउँदै आएको स्थितिमा यस विद्यालयमा पनि कक्षा ११ र १२ कक्षा पढाउनुपर्ने खाँचो महशुस गरिएको हो।

११ र १२ कक्षामा कुन कुन विषय पढाइनेछ ?

११ र १२ कक्षा पढाउनका लागि गत वर्ष नै स्वीकृति लिएको हो। यो सत्रमा ११ कक्षाको पठनपाठन शुरू गर्ने छौँ , भने अर्को वर्ष १२ कक्षा सञ्चालन हुनेछ। यस विद्यालयमा नेपालभाषाको एउटा विषयसँगै मानविकी, व्यवस्थापन र कम्प्युटर विषय पढाइनेछ । यसका लागि पूर्वाधार, शिक्षक शिक्षिकादेखि अन्य सम्पूर्ण तयारी पूरा भइसकेको छ।

जगतसुन्दर ब्वनेकूथिको अवधारणा कसरी
जन्मिएको हो ?

नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीयमुलुक हो। पञ्चायतकालमा एक भाषाको माध्यमबाट पढाउने नीति लिइयो। प्रजातान्त्रिक पुनःस्थापनाका लागि आन्दोलन गर्नुहुने भाषिकअधिकारकर्मीले आन्दोलनताकादेखि नै मातृभाषाको माध्यमबाट पढाइको एजेन्डा उठाउँदै आएको थियो। वास्तवमा यस्तो विद्यालयको परिकल्पना पञ्चायतकालीन विद्रोहताका भएको थियो । प्रजातन्त्र पुनस्थापनापश्चात् बनेको २०४७ सालको संविधानमा प्रत्येक नेपालीलाई प्राथमिक तहसम्म मातृभाषामा पढ्न पाउने हक हुनेछ भनि लेखिएको थियो ।संविधान निर्माणक्रममै यस विषयमा संविधानले सम्बोधन गर्नुपर्ने विषयमा तत्कालीन नेपालभाषा मिसा खलःको अगुवाको हिसाबले मैले अरू थुपै भाषिक अधिकारकर्मीले यस विषयमा सुझाव दिएको थियो। सो प्रावधान राखेर संविधान जारी भएसँगै नै भाषिक अधिकारकर्मी पदमरत्न तुलाधर, लक्ष्मीदास मानन्धर, राजभाइ जकमी जस्ता अधिकारकर्मीहरूको प्रयासबाट स्थापित भएको हो । अहिले यो विद्यालय सार्वजनिक गुठी अन्तर्गत रहेको छ ।

मातृभाषामा शिक्षणको महत्व के रहेको छ ?

मातृभाषामा शिक्षण दिनु विद्यार्थीहरूको लागि अत्यन्त रहन्छ। किनकि उनीहरू आफ््नो मातृभाषामा सबैभन्दा सहज र स्वाभाविक रूपमा सोच्न, बुझ्न र सिक्न सक्छन्। यसबाट उनीहरूको ज्ञानका आधारहरू मजबुत हुन्छन् र उनीहरूको सोचाइमा गहिराई आउँछ। मातृभाषामा शिक्षा प्राप्त गर्दा विद्यार्थीले शिक्षा प्रक्रियामा सन्देशलाई राम्रोसँग आत्मसात् गर्न सक्छन्, जसले दीर्घकालीन सिकाइलाई प्रभावकारी बनाउँछ।

यस विद्यालयमा पठनपाठनको तरिका अरू विद्यालयको भन्दा फरक के छ ?

यस विद्यालय २०४७ सालको संविधान जारी भए लगतै स्थापना गरिएको थियो। स्थापना भएको पहिलो वर्ष प्रारम्भिक कक्षामा मात्र नेपाल भाषाको माध्यमबाट पढाउन शुरू गरेको थियो। दोस्रो वर्षमा कक्षा पा“च सम्म हुँदै अहिले कक्षा १० सम्म नेपाल भाषाको माध्यमबाट पढाउँदै आएको छ। नेपाल भाषा मात्र पढाउने नभई त्यसको माध्यमबाट अंग्रेजी, गणित, विज्ञान, लेखा जम्मै पढाइन्छ। त्यतिमात्र नभई नेपाली र अंग्रेजी भाषाको माध्यमबाट पनि पढाइन्छ। वास्तवमा अहिले बहुभाषिक शिक्षण पद्धतिको महत्व र आवश्यकता २०६२÷०६३ को आन्दोलनपछि राष्ट्रिय रूपमा र सयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक कोष (युनेस्को) विश्वभर बहस चलाएको पाइयो। तर त्यतिबेलादेखि यस विद्यालयले बहुभाषिक शिक्षा पद्धतिलाई व्यावहारिक रूपमा आत्मसात् गर्दै आएको थियो।

ब्वनेकूथिले स्थापनाकालदेखि नै बहुभाषिक शिक्षणपद्धतिलाई आत्मसात् गर्दै आएको प्रसड्ड निकाल्नुभयो। वास्तवमा शिक्षामा यसको के महत्व रहेको छ ?

बहुभाषिक शिक्षणपद्धति भन्नाले विद्यार्थीलाई विभिन्न भाषामा शिक्षा दिने प्रक्रिया हो, जसमा उनीहरू मातृभाषा, नेपाली र अंग्रेजी लगायत अरू भाषामा पढ्ने अवसर पाउँछन् । यस पद्धतिको मुख्य उद्देश्य भनेको विद्यार्थीलाई भाषिक विविधता र संस्कृतिको महत्व बुझाउनु हो। यसले विद्यार्थीलाई मानसिक र बौद्धिक विकासमा मद्दत पुर्याउँछ र उनीहरूलाई नेपालकै विभिन्न संस्कृतिहरूसँग सम्बन्ध र अपनत्व स्थापित गर्न टेवा पु¥याउने छ। यसले विद्यार्थीहरूमा भाषिक, सामाजिक र सांस्कृतिक ज्ञानको विकास गर्दछ। उनीहरूको मानसिक क्षमतामा वृद्धि गर्नेछ र विभिन्न भाषामा सोच्न र बुझ्न सक्ने क्षमता पैदा गर्दछ। विशेषगरी, यस पद्धतिको माध्यमबाट विद्यार्थीहरू नयाँ भाषाहरू सिक्न सक्षम हुन्छन् र यसले उनीहरूलाई स्थानीय, राष्ट्रिय र विश्वव्यापी परिप्रेक्ष्यमा सोच्न प्रेरित गर्दछ। यसले भाषामा निपुणता र संवाद कौशलमा पनि सुधार ल्याउँछ।

मातृभाषामा शिक्षा दिने वा बहुभाषिक प्रक्रियाले सामाजिक समावेशितामा के कस्तो योगदान पुर्याउँछ?

मातृभाषामा शिक्षा दिने प्रक्रियाले सामाजिक समावेशितामा ठूलो योगदान पुर्याउँदछ। यसले सबै समुदायका विद्यार्थीहरूलाई समान अवसर दिन्छ र सामाजिक विभाजनलाई कम गर्छ। विद्यार्थीहरू आफ्नो सांस्कृतिक पहिचानमा गर्व गर्न सक्षम हुन्छन् र उनीहरूको आत्मविश्वासमा वृद्धि हुन्छ। यसले शिक्षा प्रणालीमा समानता ल्याउन मद्दत पुर्याउ“दछ र सबै विद्यार्थीहरूको व्यक्तिगत तथा सामाजिक विकासमा सहायक हुन्छ।

यस विद्यालयका विद्यार्थीहरू नेवाः समुदायका मात्र छन् कि अरू पनि ?

नेपालभाषाको माध्यमबाट शिक्षा दिने अर्थात् बहुभाषिक माध्यमबाट सिकाउने यस विद्यालयमा शुरूमा नेवाः समुदायका विद्यार्थीहरूको बाहुल्य थियो। पछि यस विद्यालयको पढाउने तरिका देखेर नेवाः समुदायबाहेक राई, लिम्बु्, गुरुङ, तामाङ र मगरलगायत अन्य आदिवासी जनजाति, ब्राह्मण, क्षेत्रीका परिवारका विद्यार्थीहरू भर्ना हुने क्रम बढ्दै गयो। उनीहरूले पनि मज्जाले नेपालभाषा बोल्ने, मज्जाले कथा, कविता र निबन्ध लेख्ने हुँदै गए। अहिले पनि विद्यालयमा यस्तो क्रम देख्न सकिन्छ। अहिले काठमाडौं महानगरपालिका सार्वजनिक तथा निजी विद्यालयमा नेपालभाषामा पढाउन शुरू गरेपछि यहाँ पढेका धेरै विद्यार्थीहरू अहिले शिक्षकशिक्षिका भएर नेपालभाषाको विषय पढाइरहेका छन्। त्यसमा विभिन्न समुदायहरू छन्। वास्तवमा विभिन्न समुदायभित्रको आपसी सम्मान र एकताको भाव पढाइको माध्यमबाट वृद्धि भइरहेको छ।

नेपालभाषाको विषयगत पढाइ वा माध्यम भाषाको रूपमा हुने पढाइलाई हेर्ने दृष्टिमा अहिले कतिको फेरबदल आएको छ ?

जगतसुन्दर ब्वनेकूथिमा नेपालभाषाको एउटा विषय पढाइ हुन्छ। अर्को भनेको अरू विद्यालयमा जस्तै अगं्रेजी, नेपालीका साथै नेपालभाषामा पढाइन्छ। संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थासँगै काठमाडौं महानगरपालिकाले सार्वजनिक तथा निजी विद्यालयमा कक्षा ८ सम्म नेपाल भाषाको विषय पढाउन थालेपछि यसको व्यापकता र माग बढ्न थालेको छ। शिक्षकशिक्षिका उपलब्ध गराउनेदेखि पाठय्क्रम निर्माणमा यही विद्यालयको पढाइ उदाहरण र सन्दर्भका रूपमा लिइएको थियो। त्यसैक्रममा बागमती प्रदेशले पनि नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता प्रदान गरेपछि यस विषयले झन् महत्व पाएको छ। अंग्रेजी जानेबुझेकोलाई मात्र ज्ञानको एक मात्र मानकका रूपमा लिने क्रममा धेरै परिर्वतन भएको छ । वास्तवमा जुनसुकै भाषालाई रोजगारीको माध्यम बनाउने हो त्यसको माग र महत्व झन् बढ्ने छ। त्यसैगरी राज्यको उदार भाषिक नीति, शिक्षामा बहुभाषिक माध्यमलाई प्रयोग गर्ने हो भने त्यस साक्षर मात्र नभई नेपालको धरातलीय यथार्थ अनुरुपको ज्ञान दिन सकिन्छ र त्यसको महत्व छ भन्ने तथ्यको पनि बोध गराएको देखिन्छ।

विद्यालय स्थापना गर्दाको लक्ष्य अहिले आएर कतिको साकार भएको
पाउनुहुनेछ ?

३५ वर्षअघि विद्यालय स्थापना गर्दा म व्यवस्थापन समितिको कोषाध्यक्ष थिएँ । यस अन्तरालमा विद्यालयले धेरै चरणहरू पार गरिसकेको छ। विद्यार्थीहरूले पाएको सफलताले निकै खुशी छु। भर्खरै सम्पन्न एसईईमा यस विद्यालयबाट परीक्षा दिने विद्यार्थीहरूले राम्रै अंक ल्याएका छन्। यसबाट निकै सन्तुष्ट छु ।थुपै्र आन्दोलनकारी, भाषिक अभियन्ता अधिकारकर्मीले देखेको सपना पूरा भएको रूपमा लिएको छु। अहिले पनि ३ सय जना भन्दा बढी विद्यार्थीहरू पढिरहेका छन्।