केएमसी, बागबजारले स्थापनाको पच्चीसौं वर्षमा छात्रवृत्ति घोषणा


काठमाडौं ।

काठमाडौं मोडेल माध्यमिक विद्यालय, बागबजारले आफ्नो स्थापनाको २५औं वर्षका अवसरमा २५ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने घोषणा गरेको छ । विद्यालयले यस वर्षलाई रजत जयन्ती वर्षका रूपमा मनाउन विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ ।

यसैअन्तर्गत केएमसीबाट कक्षा ११ र १२ उत्तीर्ण भई हाल काठमाडौंका विभिन्न मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययनरत करिब ४ सय पूर्वविद्यार्थी भेटघाट तथा पुनर्मिलन कार्यक्रममा विद्यालयको गौरवशाली इतिहास र शैक्षिक योगदानलाई पुनः स्मरण गराउँदै विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामेश्वर अर्यालले सो घोषणा गर्नुभएको हो ।

अध्यक्ष अर्यालले विद्यालयको समृद्ध इतिहास र भविष्यप्रतिको प्रतिबद्धताबारे प्रकाश पार्दै विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा ‘सिल्भर जुब्ली छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत २५ जना मेधावी विद्यार्थीका लागि विशेष छात्रवृत्तिको घोषणा गर्नुभयो ।

उहाँले छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीले वार्षिक शुल्कस्वरूप २५ हजार रुपियाँ बुझाउनुपर्नेछ, जुन अत्यन्त सहुलियतपूर्ण व्यवस्था भएको बताउनुभयो । उहाँले पूर्वविद्यार्थीहरूले आफ्ना भाइबहिनीहरूलाई विद्यालयमा भर्ना गराएमा भर्नामा विशेष ग्राह्यता दिने व्यवस्था गर्नेसमेत जानकारी दिँदै विद्यालयलाई भाबी पुस्ताका लागि पनि पढाउन योग्य संस्थाको रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले विद्यालयमा प्राप्त शिक्षाले जीवनमा पुर्‍याएको योगदानबारे आफ्ना अनुभव साटासाट गरेका थिए । कार्यक्रममा काठमाडौं मेडिकल कलेजका भाइस प्रिन्सिपल डा. सुशील पोख्रेल, पूर्वविद्यार्थी मञ्चका अध्यक्ष डा. अच्युतशाली घिमिरे, पाटन अस्पतालका डा. रमन अर्याल, आर्मी मेडिकल कलेजका प्रतिनिधि विद्यार्थी प्रतीक सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका समृद्धि डुम्रे र द्रोण पौडेल तथा विद्यालयका प्राचार्य डा. नगेन्द्रबहादुर अर्याललगायतले बोल्नुभएको थियो ।

प्राचार्य डा. नगेन्द्रबहादुर अर्यालले विद्यालय आफ्ना विद्यार्थीको जीवनभरको साथी बन्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो । विद्यालयका परीक्षा संयोजक डीडी अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी पूर्वविद्यार्थीले विद्यालयले प्रदान गरेको अनुशासन, मिहिनेत र परिश्रमको शिक्षाले नै आज आफूहरू सफल भएको अनुभव सुनाउँदै विद्यालयप्रति आभार व्यक्त गर्नुभयो ।