स्याङ्जा।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा राष्ट्रिय स्तरमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा स्याङ्जामा ६७.६३ प्रतिशत उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष जिल्लाबाट एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६७.६३ रहेको छ । गएको वर्ष जिल्लामा ग्रेडेड हुनेको संख्या ४३ प्रतिशत मात्र थियो । स्याङ्जाको नतिजामा गत वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको छ । यो नतिजा गत वर्षको भन्दा झण्डै २५ प्रतिशतले बढी हो । अहिले राष्ट्रिय नतिजाको तुलनामा पनि स्याङ्जाको नतिजा राम्रो देखिएको छ ।
नन–ग्रेडिङ हुने विद्यार्थीहरुले आगामी साउन २९ गतेबाट हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । उक्त परीक्षाबाट ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । स्याङ्जाबाट अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी अर्जुनचौपारी, पाइनिअज हाएर एजुकेशन एकेडेमी वालिङ, नेपाल आदर्श अ.आ.मा.वि. वालिङ र भगवती नमूना मा.वि मिर्मिका १÷१ जना गरी ४ जना विद्यार्थीको ४ जिपिए आएको छ । ४ जिपिए आउने जिल्लाका ४ वटा विद्यालयहरुमध्ये ३ वटा संस्थागत विद्यालय हुन भने एउटा मात्र सामुदायिक विद्यालय रहेको छ । ४ जिपिए ल्याउनेमा भगवती माविका प्रतीक भट्टराई, पाईनिअजका प्राप्ति काफ्ले, नेपाल आदर्शका अप्सन सुवेदी र अर्जुनचौपारीका किन्जल देवकोटा रहेको शिक्षा इकाई समन्वय कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लाबाट एसईई परीक्षामा सहभागी १ सय ७२ विद्यालयहरुमध्ये ३ वटा विद्यालयको नतिजा शून्य रहेको कार्यालयले जनाएको छ । गल्याङको शिशुकल्याण मा.वि., चापाकोटको मणिकुन्देश्वर वेदविद्याश्रम र हरीनाशको अमलाभञ्याङ मा.वि.बाट १ जना विद्यार्थी पनि उत्तीर्ण हुन सकेनन् । शून्य नतिजा ल्याउने ३ वटै विद्यालय सामुदायिक विद्यालय रहेका छन् ।
प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नन–ग्रेडिङ हुने व्यवस्था अनुसार एसईईको नतिजा सार्वजनिक भएको हो । इकाईका अनुसार स्याङ्जामा नियमिततर्फ जीपीए ३.६ देखि ४ ल्याउनेको संख्या ३ सय २१ रहेको छ । त्यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउने ७ सय २८ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९ सय ४७ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४ सय ८६ जना, २ देखि २.४ जीपीए ल्याउने ३३ जना गरी जम्मा २ हजार ५ सय १५ विद्यार्थी ग्रेडेड भएका छन् भने नन ग्रेडेड– १ हजार २ सय ४ जना छन् । गत वर्ष स्याङ्जाबाट एसईईमा कुल ३ हजार ७ सय १९ परीक्षार्थी सहभागी थिए ।
पालिकागत रुपमा नतिजा विश्लेषण गर्दा सबैभन्दा उत्कृष्ट वालिङ नगरपालिका तथा कमजोर हरीनाश र विरुवा गाउँपालिका देखिएको छ । वालिङको उत्तीर्ण प्रतिशत ८०%, भीरकोटको ७४%, चापाकोटको ७२%, फेदीखोलाको ७०%, अजुनचौपारीको ६६%, पुतलीबजारको ६४%, गल्याङको ६३%, आँधीखोला र कालीगण्डकीको ५९% तथा हरीनाश र विरुवाको ४८% रहेको छ । संस्थागततर्फ उत्तीर्ण प्रतिशत ८७% र सामुदायिकतर्फ ६१% रहेको कार्यालयले जनाएको छ । जिल्लामा ८ वटा सामुदायिक र ६ वटा संस्थागत गरी १४ वटा विद्यालयको नतिजा शतप्रतिशत रहेको छ ।
प्रतिक्रिया