–विभागको सुधार अभियान जारी
–बिचौलियामुक्त विभागमा अब धेरै काम अनलाइनबाट
काठमाडौं ।
यसअघि बिचौलियाको घेराबन्दीमा रहने वैदेशिक रोजगार विभागले बिचौलियामुक्त क्षेत्र घोषणा गरेपछि सर्वसाधारण सेवाग्राहीले निकै राहत महसुस गर्न थालेका छन् । विभागलले श्रमस्वीकृति दिनेलगायतका महत्वपूर्ण कार्यहरू अनलाइनमार्फत नै गर्न थालेपछि बिचौलियाहरूको धन्दामा पूर्ण रूपमा ब्रेक लागेको छ । अब वैदेशिक रोजगारसम्बन्धी समग्र विषयमा कुनै गुनासो सुनुवाइका लागि विभागका महानिर्देशक कमलप्रसाद भट्टराइलाई उहाँको मोबाइल नम्बर ९८५११७१६०१ मा सीधै सम्पर्क गरी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यसै गरी विभागले दिने सेवालगायतका समग्र विषयमा जानकारी लिन उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीको ९८५१३४२३९२ लाई सम्पर्क गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।विभागमा महानिर्देशकको रूपमा कमलप्रसाद भट्टराई आएपछि उहाँले विभागलाई बिचौलियामुक्त क्षेत्र घोषणा गर्नुका साथै श्रम स्वीकृति प्रदान गर्नेलगायतका अधिकाश सेवाहरूमा व्यापक सुधार गर्दै अनलाइनबाट प्रदान गर्ने व्यवस्था मिलाउनुभएको छ ।
महानिर्देशक भट्टराईले बुधबारमात्रै विभागमा बिचौलिया निषेधित गरिएको सन्देश जाने गरी नयाँ बोर्ड राख्नुभएको छ । सो बोर्डमा अब यस विभागबाट प्रदान गरिने श्रमस्वीकृति लगायतका अधिकांश सेवाहरू विद्युतीय अनलाइन माध्यमबाट प्रदान हुने हुँदा सेवाग्राहीहरू कार्यालयमा आइरहनुनपर्ने तथा विभागमा सेवालिन आउने सेवाग्राहीहरुमा सेवा सम्वन्धि कुनै द्विविधा, जिज्ञासा गुनासो, सुझाव वा उजुरी भए सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न भन्दै विभिन्न शाखामा रहेका कर्मचारीको मोबाइल नं र टेलिफोन नम्बर नै सो बोर्डमा उल्लेख गरिएको छ ।
अब सर्वसाधारणले घरमै बसी बसी सेवा लिन सक्ने तथा काम भएनभएको बारेमा विभिन्न कर्मचारीलाई फोन गरे थाहा पाउन सकिने गरी आवश्यक व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागका महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । यस्ता सबै विवरणहरू संलग्न गरी बुधबारदेखि विभागमा नयाँ बोर्ड राखिएको र यसबाट बिचौलियाहरू निरुत्साहित हुने तथा अत्यावश्यक परेमा सेवाग्राहीले सम्वन्धित कर्मचारीलाई सीधै सम्पर्क राख्न सक्ने गरी सुविधा प्रदान गरिएको विभागका महानिर्देशक भट्टराईले बताउनुभयो । विभागलाई बिचौलियामुक्त घोषणा गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तथा वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न विभागले विशेष सुधार अभियान जारी राख्दै आइरहेको छ ।
महानिर्देशक भट्टराईका अनुसार विभागले सुधारका कार्यक्रमअन्तर्गत श्रम स्वीकृति २ मिनेट भित्रमा दिने गरेको छ । यसअघि श्रम स्वीकृतिका लागि श्रमिकहरूले ठूलो दुःख र झन्झट व्यहोर्नुपथ्र्यो भने बिचौलियाहरूलाई घुससमेत खुवाउनुपर्ने वाध्यता थियो । विभागले वैदेशिक रोजगारविरुद्ध हुने सबैखाले ठगीलाई कानुनी दायरामा ल्याउनसमेत विशेष अभियान सञ्चालन गर्दै आइरहेको र पीडितको पक्षमा निर्णय गर्ने क्रम बढाउँदै आएको जनाएको छ ।
महानिर्देशक भट्टराईका अनुसार विभागले वैदेशिक रोजगारमा जाने नेपालीहरूलाई संस्थागततर्फ १११ देश खुल्ला गरिएकोमा १०३ देशमा र व्यक्तिगत तर्फबाट १८५ देश खुल्ला गरिएकोमा हाल १७४ वटा देशमा श्रम स्वीकृति लिई जान सक्ने व्यवस्था गरेको छ । यस आर्थिक वर्षमा हालसम्म जम्मा ७ लाख ७८ हजार ३ सय ७८ जनाले वैदेशिक श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।











प्रतिक्रिया