शाओमी १४ टी स्मार्टफोनको मूल्य घट्यो, अब नेपाली बजारमा ५९ हजार ९९९ रुपियाँमा उपलब्ध


काठमाडौं
शाओमी नेपालले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘शाओमी १४टी’ को मूल्य घटाएको छ । जर्मन क्यामेरा कम्पनी लाइकासँगको सहकार्यमा विकास गरिएको यो स्मार्टफोन अब ५९ हजार ९९९ रुपैयाँमा नेपाली बजारमा उपलब्ध भएको छ । यसअघि १२ जिबी र्याम र ५१२ जिबी भण्डारण क्षमतासहितको शाओमी १४टीको मूल्य ६४ हजार ९९९ रुपैयाँ थियो । मूल्य घटेसँगै यो फोन प्रविधिप्रेमी नेपाली प्रयोगकर्ताका लागि अझ आकर्षक र पहुँचयोग्य बनेको शाओमीको दाबी छ ।


शाओमी नेपालका देशीय महाप्रबन्धक मनु मानस्वीले शाओमी १४टी नवप्रवर्तन र उच्च प्रविधिको प्रतीक भएको उल्लेख गरेका छन् । उनका अनुसार लाइका ब्रान्डको क्यामेरा र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको कारणले गर्दा यो फोन नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई सर्वसुलभ बनाउने रणनीति अन्तर्गत कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ ।


शाओमी १४टी मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र ५० मेगापिक्सेलको टेलिफोटो लेन्ससहितको त्रैविधिक लाइका क्यामेरा प्रणाली समावेश गरिएको छ । यस क्यामेराले ४के भिडियो खिच्न र व्यावसायिक गुणस्तरका फोटो खिच्न सक्षम बनाउँछ । स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा चिप प्रयोग गरिएको छ, जसले शक्तिशाली ४ नानोमिटर प्रोसेसर, एलपीडीडीआर५एक्स र्याम र यूएफएस ४.० भण्डारण प्रविधिका माध्यमबाट उच्च प्रदर्शन प्रदान गर्दछ ।


फोनमा ६.६७ इन्चको १.५ के रिजोल्युसनसहितको १४४ हर्ज ताजगी दर भएको एमोलेड डिस्प्ले दिइएको छ, जसमा एचडीआर १० समर्थन, स्मार्ट फोटो मोड तथा कृत्रिम दृश्य पहिचान (एआई सीन रिकग्निशन) जस्ता आधुनिक सुविधाहरू छन् । यसमा ५००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ, जुन ६७ वाटको हाइपरचार्ज प्रविधिद्वारा छिटो चार्ज गर्न सकिन्छ । साथै, यो स्मार्टफोन आईपी ६८ प्रमाणित जलरध र धूलो प्रतिरोधी पनि हो ।


शाओमी १४टी हाल टाइटन ब्ल्याक, ग्रे र ब्लू गरी तीन रङमा नेपालभर रहेका शाओमी स्टोर तथा अधिकृत विक्रेतामार्फत उपलब्ध छ । शाओमीले नवीनतम प्रविधि, उत्कृष्ट डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गर्दै नेपाली बजारमा आफ्नो उपस्थिति अझ सशक्त बनाउँदै लगेको छ ।