–बिचौलियाहरू अत्तालिँदै दुष्प्रचारमा
–७ लाख ७८ हजार ३ सय ७८ ले लिए श्रम स्वीकृति
–श्रम स्वीकृति दुई मिनेटभित्रै
–इजरायल र इपीएस कोरिया शाखाको निरन्तर अनुगमन
काठमाडौं ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तथा वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न विशेष सुधार अभियान थालेको छ । सुधार अभियानलाई सफल बनाउन वैदेशिक रोजगार विभागलाई बिचौलिया निषेधित क्षेत्र घोषणा गरिएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विभागलाई बिचौलिया मुक्त क्षेत्र घोषणा गरिएकाले बिचौलियाहरू अत्तालिएर विभिन्न खाले दुष्प्रचार गरेको बताउनुभयो । यद्यपि, आफूहरूको सुधार अभियान नरोकिने महानिर्देशक भट्टराईले चेतावनी दिनुभयो ।
भट्टराईका अनुसार विभागले सुधारका कार्यक्रमअन्तर्गत नै श्रम स्वीकृति २ मिनेटभित्रमा दिने गरेको छ । यसअघि श्रम स्वीकृतिका लागि श्रमिकहरूले ठूलो दुःख र झन्झट व्यहोर्नुपथ्र्यो भने बिचौलियाहरुलाई ठूलो परिमाणमा घुससमेत खुवाउनुपर्ने बाध्यता थियो । अहिले विभागले २ मिनेटभित्रै श्रम स्वीकृति दिन थालेपछि सर्वसाधारण श्रमिकलाई निकै राहत भएको छ भने बिचौलियाहरू छटपटाउन थालेको पाइएको छ । बिचौलियामुक्त क्षेत्र घोषणा गरेपछि बिचौलियाहरू अत्तालिन थालेका छन् । ती बिचौलियाहरूले विभागको सुधार अभियान रोक्न विभिन्नखाले दुष्प्रचार गर्न थालेको विभागका अधिकारीहरूले बताएका छन् ।
विभागले वैदेशिक रोजगारविरुद्ध हुने सबैखाले ठगीलाई कानुनी दायरामा ल्याउन समेत विशेष अभियान सञ्चालन गर्दै आइरहेको र पीडितको पक्षमा निर्णय गर्ने क्रम बढाइएको विभागका महानिर्देशक भट्टराइले जानकारी दिनुभयो । महानिर्देशक भट्टराईका अनुसार विभागले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई संस्थागततर्फ १११ देश खुला गरिएकोमा १०३ देशमा र व्यक्तिगत तर्फबाट १८५ देश खुला गरिएकोमा हाल १७४ वटा देशमा श्रम स्वीकृति लिई जान सक्ने व्यवस्था गरेको छ ।
यस आर्थिक वर्षमा हालसम्म जम्मा ७ लाख ७८ हजार ३ सय ७८ जनाले वैदेशिक श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विभागका अनुसार संस्थागततर्फ इजाजत पत्र प्राप्त संस्थाले पूर्व श्रम स्वीकृतिका लागि अनलाइन एप्लाई गरिएकै दिन कार्यालय समयभित्रै पूर्व श्रम स्वीकृति दिने गरिएको छ भने वैदेशिक रोजगारीको ठगीमा प्रहरीले नियन्त्रणमा लिएका थुनुवाहरूलाई वैदेशिक रोजगार न्यायाधीकरणमा लान र ल्याउन सवारीसाधनको अभाव भएको अवस्थामा अर्थ मन्त्रालयसँग समन्वय गरी डेडिकेटेड सवारीसाधनको व्यवस्था गरिएको छ ।
यसै गरी वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न र छिटो छरितो राहत उद्धार एवं गुनासो सम्वोधन गर्न क्यूआरटी (क्विक रेस्पोन्सड टिम) टिम निर्माण गरी टोली परिचालन गरिएको छ । यसै गरी विभागको आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गरी राष्ट्रसेवक कर्मचारीलाई आचरण अनुशासनमा रही कार्यालय समयभित्र सोही दिनको कार्य फस्र्यौट गर्नुपर्ने प्रणालीको विकास गरिएको छ भने विभागको मुद्दा शाखालाई आधुनिक पूर्वाधारयुक्त बनाइएको छ । विभागले मुद्दा उजुरी गुनासो सम्बोधन गर्न सबै राजपत्रांकित अधिकृतहरूलाई अनुसन्धान अधिकृत तोकी मुद्दा फछ्र्यौट कार्यमा तीव्रता दिएको छ । यसै गरी इजरायल र इपीएस कोरिया शाखाको कामको निरन्तर अनुगमन गरी प्रभावकारी बनाइएको विभागका महानिर्देशक भट्टराइले जानकारी दिनुभयो ।











प्रतिक्रिया