प्रधानमन्त्री ओली र स्पेन समकक्षी सान्चेजबीच भेटवार्ता

पर्यटन र जलवायु विषयमा सहकार्यको आश्वासन


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच आइतबार साँझ सेभियामा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। करिब आधा घण्टा चलेको छलफलमा पर्यटन, व्यापार, जलवायु परिवर्तन र कूटनीतिक सम्बन्ध विस्तारका विषयमा गहन कुराकानी भएको थियो।

भेटमा प्रधानमन्त्री ओलीले ‘सगरमाथा संवाद’मार्फत जलवायु परिवर्तनमा नेपालको नेतृत्वबारे जानकारी गराएका थिए भने सान्चेजले त्यस प्रयासको प्रशंसा गर्दै नेपालको पक्षमा साथ दिने आश्वासन दिएका थिए। ओलीले स्पेनमा नेपाली दूतावास स्थापना भइसकेको जनाउँदै नेपालमा पनि स्पेनी दूतावास खोल्न आग्रह गरेका थिए।

प्रधानमन्त्री ओली हाल स्पेनमा संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी छन्। सोमबार उनले सम्मेलनअन्तर्गत ‘सिभिल सोसाइटी फोरम’लाई सम्बोधन गर्दै जलवायु संकट र वित्तीय न्यायका विषयमा नेपालको धारणा प्रस्तुत गरेका छन्।

यसैक्रममा उनले यूएन महासचिव एन्टोनियो गुटेरेस, इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। म्याड्रिड आइपुगेका ओलीले नेपाली राजदूत निवासमा चार घण्टा बिताउँदै असार १५ को दहीचिउरा पनि खाएका थिए।