देशभर मनसुनको प्रभाव, बाढी र पहिरोको जोखिम बढ्यो


काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसतभन्दा उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक रहेकाले अधिकांश स्थानमा बदली रहनुका साथै कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा वर्षाको सम्भावना उच्च छ। सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, भूक्षय लगायतका प्रकोपको जोखिम रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेकोले जनजीवन प्रभावित हुनसक्ने महाशाखाको चेतावनी छ। सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।