काठमाडौँ।
नेपाली सेनाले झापा र पाँचथरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शुक्रबार झापाको मेचीनगर नगरपालिका–२, बुद्धचोकस्थित श्री मेची जनसाधारण मावि परिसर र पाँचथरको फालेलुङ गाउँपालिका–७, सिदिनमामा एक दिने शिविर सञ्चालन गरिएको हो।

नेपाली सेनाको झापास्थित अरिदमन गण र पाँचथरस्थित वीरदल गणको आयोजनामा सञ्चालित शिविरमा अन्य सरोकारवाला निकाय र स्वास्थ्य संस्थाहरूको पनि प्रत्यक्ष सहभागिता रहेको थियो।

शिविरमा बाल रोग, प्रसूति तथा स्त्री रोग, दन्त, नाक, कान, घाँटी लगायतका विशेषज्ञ चिकित्सकहरूले निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरेका थिए।

शिविरमार्फत झापामा महिला ४३७ र पुरुष २०२ जना गरी ६३९ जना, र पाँचथरमा महिला १५९, पुरुष १६१ र ३२ जना बालबालिका गरी ३५२ जना स्थानीय नागरिक लाभान्वित भएका नेपाली सेनाले जनाएको छ।











प्रतिक्रिया