३५ जिल्लामा बाढीको मध्यम जोखिम, बेलुकीदेखि भारी वर्षाको सम्भावना


काठमाडौं ।

देशका ३५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) सहित साना नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ।

बाग्लुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुलालगायतका जिल्लामा पनि बाढीको जोखिम छ। साथै, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज बेलुकीदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गर्दै पहाडी तथा तराईका केही स्थानमा आइतबार रातिदेखि सोमबार बिहानसम्म ठूलो वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ।