विश्व बैंकको चेतावनी : द्वन्द्वले गरिबी र संकट थप गहिरिँदै


काठमाडौं ।

विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा विश्वभर बढ्दो द्वन्द्व र अस्थिरताका कारण चरम गरिबी भयावह रूपमा बढिरहेको चेतावनी दिएको छ।

सन् २००० यता द्वन्द्व र जनधनको क्षति तीन गुणाले वृद्धि भएको उल्लेख छ। यसले ४२ करोडभन्दा बढी मानिसहरूलाई दिनको तीन डलरभन्दा कम आम्दानीमा बाँच्न बाध्य बनाएको छ। सन् २०३० सम्म यो संख्या ४३ करोड ५० लाख नाघ्न सक्ने अनुमान गरिएको छ।

विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले दीर्घकालीन द्वन्द्वले विकास रोकिएको र हाल ३९ देश द्वन्द्वग्रस्त रहेको जनाएका छन्।

उपप्रमुख अर्थशास्त्री आयहान कोसेले अबको प्रयास निर्णायक हुनसक्ने बताएका छन्। संस्था अनुसार, द्वन्द्व सुरुअघि नै रोकथाम गर्नु सस्तो र प्रभावकारी उपाय हो।