काठमाडौं ।
अन्तर्राष्ट्रिय लागु औषध विरुद्धको दिवस मनाउँदै बिहीबार राजधानीमा मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागु औषध पुनर्स्थापना केन्द्रलाई पुरस्कृत गर्दै सरकारले आगामी आर्थिक वर्षमा लागु औषध नियन्त्रण विभाग खोल्ने घोषणा गरे ।
गृह मन्त्रालयले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि मन्त्री लेखकले लागू औषध पुनर्स्थापना केन्द्रहरुको महासंघका कार्यकारी निर्देशक विष्णु फुयलले मञ्चमै नियन्त्रण विभागको माग गरेपछि तत्काल सो मागको सम्बोधन गर्दै मन्त्री लेखकले आगामी आर्थिक वर्षमा गृहमन्त्रालयको एक अंगका रुपमा लागू औषध नियन्त्रण विभाग रहने घोषणा गरेका हुन् ।
‘लागू औषध कारोबारको असर दिनानुदिन दिन बढ्दै गएको स्विकारेर सरकारले यसलाई नियन्त्रण गर्न पञ्चवर्षीय गुरु योजनामा समेट्ने वचन दिंदै आएपनि आजसम्म ध्यान दिएन, हामीले वर्षौंदेखि माग गरिरह्यौं, तर अब म पुनः यो कुरा उठाउन्न, थाकिसकें’ कार्यकारी निर्देशक फुयलले सम्बोधनका क्रममा चिन्ता प्रकट गरेपछि गृहमन्त्री लेखकले सोही मञ्चबाट विभाग खोल्ने प्रतिबद्धता जनाएका हुन् ।
गृहमन्त्री लेखकले देशभर लागू औषधको सञ्जाल फैलिएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न छुट्टै र सशक्त निकाय आवश्यक भइसकेको स्वीकार गरे । उनका अनुसार लागू औषधको समस्या अब व्यक्तिगत मात्र नभई सामाजिक संकटमा परिणत भएको छ । यसको असर सडक दुर्घटना, आत्महत्या, यौन हिंसा, साइबर अपराधजस्ता गतिविधिसम्म देखिन थालेको बताउँदै उनले विभाग खोल्न आवश्यक रहेको स्वीकार गरेका हुन् ।
कार्यक्रममा पुनर्स्थापना केन्द्र रिचमण्ड फेलोसिप नेपाललाई गृहमन्त्री लेखकले उत्कृष्ट कार्यका लागि पहिलो पुरस्कार तथा अनुदान रकम प्रदान गरे । नेपालमा तीन सयभन्दा बढी लागू औषध पुनर्स्थापना केन्द्रहरु सञ्चालनमा रहेको र यस वर्ष गृह मन्त्रालयले अनुदान र पुरस्कारका लागि प्रस्ताव आह्वान गरेकोमा जम्मा ५९ केन्द्रहरुले प्रस्ताव पेस गरेको जसमा २३ योग्य ठहरिएको, त्यसमध्ये तीन संस्था पुरस्कृत भएका हुन् । काठमाडौंको चोभारगेटमा रहेको रिचमण्ड फेलोसिप पुनर्स्थापना केन्द्र विगत तीस वर्षदेखि सञ्चालित छ ।
पुरस्कृत हुने दोस्रो र तेस्रो संस्था क्रमशः निर्णय पुनर्स्थापना केन्द्र, दाङ र नवयात्रा पुनर्स्थापना केन्द्र, झापा रहेका छन् ।











प्रतिक्रिया