नेपालमा राणाकालसम्म विभिन्न स्थानमा फलाम, तामा खानीहरु सञ्चालनमा थिए । पछि बिस्तारै सस्तोमा बाहिरबाट आउन थालेपछि यस्ता खानी लोप हुँदै गए । यहाँ विभिन्न स्थानमा विभिन्न किसिमका खानीहरु छन् तर त्यसको विस्तृत अन्वेषण गर्न र खानी सञ्चालनका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले नेपाल पछि परेको सत्य हो । अब चुप लागेर बस्ने अवस्था छैन । स्वदेशमै यस्ता खानी हुँदाहुँदै किन बाहिरबाट ल्याउने ?
पछिल्लो समय दैलेखमा चिनियाँ प्राविधिक अनुसन्धानबाट प्राकृतिक ग्यासको विशाल भण्डार रहेको खबर फैलिएसँगै यस्तै राष्ट्रिय महत्वको धौवादी फलाम खानी पनि चर्चामा आएकोे छ । पूर्वी नवलपरासीको हुप्सेकोटस्थित धौवादीमा फलामको उत्पादन आर्थिक तथा प्राविधिक रूपले सम्भव देखिएपछि धौवादीमा फलाम खानी तथा आइरन स्टिल उद्योग स्थापनाको चर्चा चुलिएको समाचार छ ।
प्रकाशित समाचारअनुसार २०७३ सालमा खानी तथा भूगर्भ विभागद्वारा हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ अन्तर्गतका विभिन्न स्थानमा गरेको अध्ययनले यहाँ करिब ९ करोड ९० लाख टन उत्पादन योग्य फलाम रहेको देखाएको थियो । अध्ययनमा हुप्सेकोटको नाम्जाकोट, दुलुंगा, पोखरीदेखि धौवादीसम्मको करिब १० किलोमिटर क्षेत्रमा १५ देखि ३० मिटर मोटाइ तथा सय मिटरसम्म गहिराइका हेमाटाइट वर फेला परेको थियो ।
मुलुकको वर्तमान आयातको अवस्था यथावत् रहेमा यहाँको खानी क्षेत्र र भण्डारण परिमाणले करिब ३७ वर्ष थेग्न सक्ने विज्ञहरूको अनुमान छ । हाल देशमा वार्षिक करिब २७ लाख टन फलामजन्य वस्तुको खपत हुने गरेको बताइन्छ । वार्षिक अर्बौं रुपियाँ फलामजन्य वस्तुको आयातमा बाहिरिने गरेको अवस्थामा धौवादी फलाम खानी सञ्चालनमा ल्याउन सकियो भने नेपालका लागि लाभ नै हुनेछ ।
धौवादीमा फलामको ठूलो खानी रहेको पुष्टि भएसँगै सरकारले २०७६ सालमा यसको विस्तृत अध्ययन तथा व्यावसायिक उत्पादनका लागि धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना गरेको थियो । कम्पनीले फलाम खानी तथा आइरन–स्टिल उद्योग स्थापना निमित्त विस्तृत सम्भाव्यता अध्ययनका लागि अन्तर्राष्ट्रिय परामर्शदाताहरूको छनौट गरी २०७९ असोज ९ मा सम्झौता गरेको थियो ।
छनौट भएका परामर्शदाता कम्पनीहरूका साथमा फलाम भण्डारण क्षेत्र दुलुंगा, पोखरी, राम्चे, धौवादी क्षेत्रको निरीक्षण, अन्वेषण तथा ड्रिलिङसमेत गरी संकलित नमुना चीनको छेन्दुस्थित प्रयोगशालामा परीक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा उद्योग स्थापना गर्न हौसिएको हो । विभिन्न चरणमा गरिएको अध्ययन र नमुना परीक्षणबाट धौवादीको फलाम खानी आर्थिक तथा प्राविधिक रूपले व्यावसायिक उत्पादनका लागि सम्भाव्य रहेको छ ।
फलाम उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन, खानी योजना कार्यअन्तर्गत लागत अनुमान, जोखिम विश्लेषण, खानी ब्लकको विभागीय स्वीकृतिलगायतका काम अन्तिम चरणमा पुगेको कुरा बाहिर आएको छ । फलाम खानी उद्योग स्थापना भएपछि मुलुकमा हाल भइरहेको फलामको एक चौथाइ हिस्सा आयात प्रतिस्थापन गर्न सकिने बताइएको छ । देशका विभिन्न भागमा रहेका फलामका धाउबाट कच्चा फलाम संकलन गरी यसै उद्योगमार्फत प्रशोधन गरेर मुलुकलाई फलाममा शतप्रतिशत आत्मनिर्भर बनाउन पनि सकिनेछ ।
विभिन्न चरण पार गरिसकेको धौवादी फलाम खानी सञ्चालनका लागि अब सम्बन्धित निकायहरु पछि हट्नुहुँदैन । साथै दैलेखको प्राकृतिक ग्यास भण्डारलाई पनि निकाल्नै पर्छ । इन्धन र फलाममा नेपाल आत्मनिर्भर हुन सक्यो र बाहिरी मुलुकमा समेत निर्यात गर्न सक्यो भने नेपालको कायापलट हुनेछ । यसका लागि सरकार अघि बढोस्, नागरिकहरुले पछाडिबाट साथ–सहयोग गर्नेछन् ।
– अजयकुमार शर्मा, भरतपुर, चितवन ।











प्रतिक्रिया