म्याग्दी ।
विद्यार्थी अभावका कारण म्याग्दीको बेनी नगरपालिका–५ को जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिक सत्र २०८२ देखि बन्द भएका छन्। विद्यार्थीको घट्दो सङ्ख्याका कारण अन्य विद्यालयहरूमा पनि तह घटुवा गर्ने र शिक्षक व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ।
भानु माविमा हाल जम्मा ४८ विद्यार्थी छन् भने युवावर्ष र हंशबाहिनी आधारभूत विद्यालयमा कक्षाहरू शून्य विद्यार्थीसहित सञ्चालन भइरहेका छन्। सुविधा, दरबन्दी, प्रयोगशाला र पुस्तकालय हुँदा पनि विद्यार्थी नहुँदा विद्यालय सुनसान बनेका छन्।
शिक्षा शाखा अनुसार जन्मदर घट्नु, बसाइँसराइ, निजी विद्यालयको प्रभुत्व, राजनीतिक हस्तक्षेप र सामुदायिक विद्यालयप्रतिको अभिभावकको विश्वास अभावले समस्या चुलिएको हो।
नगरपालिकाले शिक्षकीय उत्तरदायित्व बढाउन विद्युतीय हाजिरी, ‘हामी सक्छौँ, हामी गर्छौँ’ अभियान, तालिम र विद्यालय समायोजनका काम अघि बढाएको छ।
नगरप्रमुख सुरत केसीका अनुसार विद्यार्थी नपुगेपछि विद्यालय बन्द र तह घटुवा गर्नुपर्ने बाध्यता रहेको छ। सुधारका लागि शिक्षक, अभिभावक र समुदाय बीचको सहकार्य अपरिहार्य भएको उनको भनाइ छ।











प्रतिक्रिया