गत वर्ष सुनकोसी नदीमा आएको बाढीबाट क्षतीग्रस्त गोलन्जार गाँउपालिका–७ स्थित खुर्कोट बसपार्क क्षेत्रको बजारमा लिइएको तस्बिर
काठमाडौं ।
सिन्धुली जिल्लामा गत वर्षको असोज ११ र १२ गतेको बाढी पहिरोबाट प्रभावित चार सय ६६ घर परिवारले अस्थायी निजी आवास निर्माणका लागि अनुदान पाउने भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयमार्फत पहिलो किस्ता रकम निकासा गरेको हो।
प्रति परिवार २५ हजार रुपैयाँको दरले पहिलो किस्ता रकम वितरण भई कुल एक करोड १६ लाख ५० हजार रुपैयाँ निकासा गरिएको छ। सबैभन्दा बढी सुनकोसी गाउँपालिकाका ३६७ परिवार प्रभावित भए, जहाँ ९१ लाख ७५ हजार रुपैयाँ निकासा भएको छ। गोलन्जोर, फिक्कल र हरिहरपुरगढी गाउँपालिकामा क्रमशः ८३, ९ र ७ परिवारलाई रकम वितरण गरिएको छ।
पहिलो किस्ता रकमबाट संरचना निर्माण भएपछि अनुगमन गरी बाँकी रकम उपलब्ध गराइने योजना रहेको छ। बाढी प्रभावित परिवारलाई निजी आवास निर्माणका लागि कुल ५० हजार रुपैयाँ अनुदान दिइनेछ।
जिल्ला प्रशासन कार्यालयले मनसुन सुरु भएसँगै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरेको छ।











प्रतिक्रिया