एमालेको मूल्यांकन : सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धिमूलक


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारको एक वर्षे कार्यकाललाई सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय तथा कार्यान्वयन सन्तोषजनक रहेको जानकारी दिए।

ज्ञवालीका अनुसार, सत्ता गठबन्धनका मुख्य दलहरू कांग्रेस र एमालेबीचको सम्बन्ध थप मजबुत हुँदै गएको पनि पार्टीको निष्कर्ष छ। पार्टीले दलीय निर्णयमा स्पष्टता र स्थायित्व देखिएको उल्लेख गरेको छ।

उपमहासचिव ज्ञवालीले सडकमा विरोधका स्वरहरू क्रमशः कम हुँदै जानु सरकारको सफलता भएको बताए।

तर, उनले सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको पनि स्वीकार गरे। पार्टीले यो क्षेत्रलाई सुधारको खाँचो भएको ठहर गरेको छ।