देशभर मनसुनी प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिकदेखि मुख्यतः सफा रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान छ। कर्णाली, सुदूरपश्चिमसहित देशका पहाडी भू-भागका केही स्थानमा तथा अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरी चल्न सक्ने चेतावनीसमेत दिइएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानमा र अन्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ। साथै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।