विराटनगर ।
बुढीगंगाको मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालयले भिक्स, सञ्चो र बामजस्ता आयुर्वेदिक उत्पादन बजारमा ल्याउने तयारी थालेको छ। विश्वविद्यालयका उपकुलपति डां सुभाष श्री पोखरेलका अनुसार यो विश्वविद्यालयको आफ्नै अनुसन्धान गरी प्रयोग गरेर उत्पादन गरिँदैछ। हालसम्म उत्पादनलाई आधिकारिक नाम भने दिइएको छैन।
उनी भन्छन्, यदि प्रदेश सरकारले अनुमति दिन्छ भने हामी बजारमा यस्ता उत्पादनहरू ल्याउन तयार छौँ। विश्वविद्यालय तहमा यस्तो प्रयास देशमै पहिलो हो। जडीबुटीमा आधारित औषधि उत्पादनमा विद्यार्थीलाई पनि संलग्न गरिने र उनीहरूलाई घण्टाको आधारमा तलब दिइने व्यवस्था गरिने बताइएको छ।
मधुमेह र भाइरसको अनुसन्धान
विश्वविद्यालयमा हिमाली क्षेत्रमा पाइने जडीबुटीहरू प्रयोग गरी मधुमेह नियन्त्रण औषधिको अनुसन्धान भइरहेको छ। भारतबाट ल्याइएका वैज्ञानिकको सहयोगमा सुरु गरिएको यस अनुसन्धानमा औषधि सुरुमा मुसामा परीक्षण गरिनेछ। अनुसन्धानको अन्तिम चरणमा पुगिसकेको बताइएको छ।
त्यस्तै, शरीरमा सकारात्मक प्रभाव पार्ने भाइरसको खोजीसमेत भइरहेको छ। एन्टिबायोटिकले असर नगर्ने अवस्थाहरूमा काम गर्ने भाइरस पत्ता लगाउन खोजिएको छ, जसले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि दिन सक्ने दाबी गरिएको छ।
बजेट अभाव र चुनौती
यस्ता महत्वाकांक्षी अनुसन्धानका बाबजुद, विश्वविद्यालयमा बजेटको गम्भीर अभाव रहेको छ। चालु आर्थिक वर्षमै कर्मचारीको तलब खुवाउन समस्या परेको उपकुलपति पोखरेलले बताए।
उनले सरकारसँग माग गरिएको ३७ करोड ८९ लाख रुपैयाँमध्ये केवल १४ करोड मात्र विनियोजन गरिएको गुनासो गरे।
उनले भने, शिक्षा क्षेत्रमा न्यूनतम ५ प्रतिशत बजेट आवश्यक थियो, तर १ प्रतिशत पनि भएन। यस्तो अवस्थामा परिवर्तन सम्भव छैन। उनले पर्याप्त बजेट पाएको खण्डमा विश्वविद्यालयलाई दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक केन्द्र बनाउन सकिने दाबी गरे।
भविष्य योजना
मनमोहन प्राविधिक विश्वविद्यालयले २०३० सम्ममा ३०० बेडको शिक्षण अस्पताल, १८ अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान संग्रहालय निर्माण गर्ने योजना अघि सारेको छ।
साथै, धनकुटा जिल्ला अस्पताललाई आफ्नो मातहत ल्याउने प्रदेश सरकारको नीति अनुसार जिम्मेवारी लिन तयार भए पनि, यसका लागि पर्याप्त बजेट र दीर्घकालीन योजना आवश्यक रहेको विश्वविद्यालयको भनाइ छ।











प्रतिक्रिया