स्वास्थ्य बीमा बोर्डद्वारा  तीन महिनाको लागि  १८० जना चिकित्सक सिफारिस, ९७ जना प्रतीक्षा सूचीमा


काठमाडौँ। 

 स्वास्थ्य बीमा बोर्डले तीन महिने सेवा अवधिका लागि १८० जना मेडिकल अधिकृत (चिकित्सक) सिफारिस गरेको छ। बोर्डले अन्य ९७ जनालाई प्रतीक्षा सूचीमा राखेको छ। बोर्डले गत १८ जेठमा ९० दिनका लागि करार सेवामा चिकित्सक आवश्यक पर्ने भन्दै आवेदन आह्वान गरेको थियो।

बोर्डले उक्त विज्ञापनमा आवेदन दिने चिकित्सकहरूमध्ये अन्तर्वार्ता प्रक्रिया सम्पन्न गरी सिफारिस तथा प्रतीक्षा सूची सार्वजनिक गरेको हो। सिफारिसमा परेका चिकित्सकहरूलाई बोर्डले बीमा योजनाअन्तर्गत पेण्डिङमा रहेका बीमा दाबीको रिभ्यु गर्न खटाउने तयारी गरेको छ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, बीमा दाबीको रिभ्यु प्रक्रिया गत वर्षको साउन यता रोकिएको छ। “झन्डै ११ महिनादेखि रिभ्यु सुरु हुन सकेको छैन,” मल्लले जानकारी दिए। यसै सन्दर्भमा, थाँती रहेका बीमा दाबीको समीक्षा ती चिकित्सकहरूमार्फत गर्ने लक्ष्यसहित नियुक्ति प्रक्रिया अघि बढाइएको जनाइएको छ।

बोर्डले सिफारिसमा परेकाहरुलाई आउँदो १२ असारदेखि १५ असार भित्र सम्झौता गर्न बोर्डको कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ। तोकिएको म्यादमा उपस्थित नभएमा सिफारिस भएका उम्मेदवारको स्थानमा प्रतीक्षा सूचीमा परेका उम्मेदवारहरूलाई अवसर दिइने बताइएको छ।

बोर्डले यस प्रक्रियाबाट बीमा सेवामा देखिएको ढिलाइ हटाउने र सेवाग्राहीको गुनासो कम गर्ने लक्ष्य लिएको छ।