युद्धको ज्वालाभित्र विश्व

10.53k
Shares

युद्ध समाधान होइन, विनाश हो । अहिले भइरहेको इरान–इजरायल युद्धले विश्वलाई अस्थिरतातर्फ धकेलेको छ । शक्तिशाली मुलुकहरु आफ्नो शक्ति प्रदर्शनतर्फ उन्मुख रहनुले युद्ध चर्कने अवस्थातर्फ अघि बढ्दो अवस्थामा छ । यस्तै हो भने अब युद्धको आगो केवल इरान–इजरायलमा सीमित हुनेछैन।

इरान–इजरायलबीचको दशकौँ पुरानो छाया–द्वन्द्व अहिले प्रत्यक्ष खुला युद्धमा रूपान्तरित भएको छ । हालै इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेपछि र त्यसको जवाफमा इजरायल–अमेरिकी साझेदारीले इरानमाथि सीधा प्रहार गरेपछि, यो संघर्ष केवल दुई मुलुकबीचको सीमित द्वन्द्व रहेन । यसले मध्यपूर्व मात्र होइन, सम्पूर्ण विश्व राजनीतिमा ठूलो कम्पन ल्याएको छ । नेपाली श्रमिकहरूदेखि युरोपेली बजारसम्म यसको असर प्रत्यक्ष महसुस हुन थालेको छ । यो परिप्रेक्ष्यले पुनः प्रमाणित गर्छ कि युद्ध कहिल्यै समाधान हुँदैन, सधैँ विनाशको कारक मात्रै बन्छ ।

२०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणले इरान–इजरायल दुश्मनीलाई पुनः तीव्र बनायो । त्यस घटनाले केवल इजरायल–हमास तनावलाई होइन, इरान र इजरायलबीचको दुश्मनीको छाया प्रत्यक्ष सैन्य द्वन्द्वमा रूपान्तरण ग¥यो । इजरायलले हमासमाथिको जवाफ मात्र दिएन, लेबनानमा हिज्बुल्लाह र अन्ततः इरानभित्रको सैन्य तथा आणविक संरचनामाथि सशस्त्र हमला ग¥यो ।

अमेरिकाले इरानको भूमिगत आणविक भट्टीहरूमा अत्याधुनिक बी–२ बमवर्षकबाट जीबीयु–५७ बम खसालेर इरानको रणनीतिक संरचना ध्वस्त पारिदियो । यसबाट इरानको आणविक वैज्ञानिक, सैन्य लिडरसिप र आधारभूत पूर्वाधार गम्भीररूपमा प्रभावित भयो ।

इरानले निर्माण गरेको ‘एक्सिस अफ रेसिस्टेन्स’ हिज्बुल्लाह, हमास, हुथी मिलिसिया र इराकी समूहहरू इजरायलविरुद्ध रणनीतिक घेराबन्दी गर्न बनाइएको थियो । तर अहिले गाजाबाट हमास पराजित भइसकेको छ, लेबनानमा हिज्बुल्लाह कमजोर पारिएको छ र सिरियामा बसर अल–असदको सत्ता पनि संकटमा परेको छ । उनले देश नै छोडेर रुसको शरण लिन पुगेका छन् ।

यसले प्रमाणित गर्छ कि बाह्य मोर्चामा मात्र आधारित सुरक्षा रणनीति लामो समय टिक्दैन । युद्ध लड्न केवल हतियार होइन, सामरिक रणनीति, आन्तरिक स्थायित्व र अन्तर्राष्ट्रिय समर्थन चाहिन्छ । यी सबैबाट इरान टाढा गइसकेको छ ।

स्ट्रेट अफ हर्मुज संकट र विश्व अर्थतन्त्र

सबैभन्दा खतरनाक मोड तब आयो, जब इरानको संसद्ले स्ट्रेट अफ हर्मुज बन्द गर्ने प्रस्ताव पारित ग¥यो । यो खाडी क्षेत्रको सबैभन्दा संवेदनशील नाकाको रूपमा चिनिन्छ, जहाँबाट विश्व तेल आपूर्तिको करिब ३० प्रतिशत आउने–जाने गर्दछ । यदि यो जलमार्ग बन्द भयो भने तेलको मूल्य आकाशिन्छ, जसले सबै मुलुकको आर्थिक सन्तुलन भत्काउने निश्चित प्रायः देखिन्छ ।

यसको असर चीन, भारत, जापानजस्ता मुलुक तत्काल पर्ने देखिन्छ । यसले सबैभन्दा बढी मार युरोपलाई पार्ने देखिन्छ । युरोपेली आपूर्ति सञ्जाल लगभग ध्वस्त हुने देखिन्छ, जसका कारण विश्वव्यापी आर्थिक मन्दीको खतरा जन्मिने सम्भावना बढ्दो अवस्थामा रहेको छ । तर यति खतरनाक निर्णयले इरान आफैँलाई समेत आर्थिक रूपले आत्मघाती असर दिन सक्छ । त्यसैले यो धम्की अब दाबीभन्दा बढी हतासीतर्फको संकेतको रुपमा लिनुपर्ने हुन्छ ।
अमेरिकी रणनीति र ट्रम्पको भूमिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका इरानमाथि कडा प्रहारमा उत्रिएको देखिन्छ । ट्रम्पले आणविक सम्झौता तोडेपछि एकातर्फ ‘शान्तिका लागि वार्ता’ भन्ने कुरा गर्छन् भने अर्कातर्फ युद्धको निर्णायक प्रहार पनि गर्छन् । यो ‘नोबेल शान्ति पुरस्कार’ को चाहना र मध्यपूर्वमा अमेरिका–इजरायल वर्चश्व स्थापित गर्ने नीतिको मिलाजुली रणनीति हो कि भन्ने आशंका जन्माएको छ ।

तर यसले अमेरिकी हस्तक्षेपलाई अझै अविश्वसनीय बनाएको छ । शान्तिका पक्षमा भनिए पनि व्यवहारमा गहिरो पक्षपात देखिन्छ, जसले संयुक्त राष्ट्रसंघजस्ता संस्थालाई समेत निष्क्रिय बनाइदिएको छ । ट्रम्प नेतृत्वको अमेरिकाले सन् २०१७ मा पूर्वराष्ट्रपति ओबामाले गरेको आणविक सम्झौता तोडेपछि इरानसँग पुनः वार्ता गर्न खोजेको देखिन्छ । ट्रम्पले इरानमाथि हमला गरे पनि ‘सत्ता परिवर्तन होइन, कार्यक्रम समाप्ति’ नै प्राथमिकता हो भनेका छन् ।
इरानभित्र सत्ताको संकट र रणनीतिक विफलता

पाँच दशक लामो इस्लामिक शासन अब गम्भीर दबाबमा छ । जनता महँगी, असुरक्षा र राजनीतिक अस्पष्टताबाट आक्रोशित छन् । इजरायलको ‘अपरेसन राइजिङ लायन’ मार्फत पुरानो पहलवी शासनको संकेत गर्नु, आन्तरिक विद्रोहको आशंका गर्नु र सुरक्षामा अत्यधिक कमजोरी देखिनु यी सबै इरानी शासनका लागि अस्तित्वको संकटको रुपमा देखा परेको छ ।

इरानले आफ्ना अणु कार्यक्रम गुपचुप अघि बढाएको थियो तर सुरक्षा प्रणालीमा ध्यान नदिँदा सबै ध्वस्त भएको आशंका गरिएको छ । बाह्य लडाइँ लड्दै आन्तरिक सुरक्षालाई उपेक्षा गर्नु रणनीतिक हारको रुपमा स्थापित हुन पुगेको छ । इरानले हवाई सुरक्षा प्रणाली, आन्तरिक वायु सेना र नागरिक सुरक्षामा पर्याप्त लगानी गर्न सकेन । यसको साटो उसले अर्बाैं डलर खर्च गरेर बाह्य मोर्चामा आधारित सुरक्षा (जस्तो कि हिजबुल्लाह, हमास, इराकी मिलिसिया आदि) चलायो । तर ती मोर्चा धराशयी हुँदा इरानका इस्लामिक शासक एक्लिएका छन् ।

चीन र रूसको मौनता

चीनले सन् २०२३ मा इरान–साउदी सम्बन्ध सुधार्न भूमिका खेलेको थियो तर अहिले निष्क्रिय छ । इरान कमजोर भएपछि चीन चुप लागेको हो कि भन्ने देखिन्छ । चीनको प्राथमिकता तेल हो, युद्ध होइन । रूस युक्रेन युद्धमा आफैं फसेको छ, उसले इरानलाई समर्थन गर्ने सामथ्र्य पनि राख्दैन । तेलको मूल्य घट्यो भने उसलाई पनि घाटा हुन्छ । त्यसैले रणनीतिक रूपमा ‘इरानको पक्षमा’ देखिए पनि व्यवहारमा रूस–चीन दुवै इरानलाई एक्लै छाड्दै छन् ।
नेपाली कामदार र मानव पीडाको छाया

कतार, युएई, कुवेत, बहराइन, साउदी अरेबियामा झन्डै २० लाख नेपाली कामदार छन् । यिनीहरूमध्ये ४ लाख जति कतारमै छन्, जहाँ इरानी आक्रमणको असर प्रत्यक्ष महसुस हुन थालेको छ । यदि युद्ध फैलियो भने नेपालीहरूलाई सुरक्षित उद्धार गर्न नेपाल सरकारले तत्काल रणनीति बनाउनुपर्ने देखिन्छ । राजदूतावासहरूको समन्वय, एयरलिफ्ट योजना र आपतकालीन सहयोग केन्द्रहरू आवश्यक हुनेछन् । यद्यपि, यो परिस्थिति सिर्जना भयो भने नेपालको अर्थतन्त्रमै असर पर्न सक्छ । किनकि रोजगारी र रेमिट्यान्समा ठूलो धक्का लाग्नेछ ।

यस युद्धको प्रभाव केवल सैन्य क्षति र कूटनीतिक संकटमा सीमित छैन । अब विश्वले सामना गर्नुपर्ने संकटहरू यस्ता छन्– खाद्य संकट र आपूर्ति सञ्जालको अवरोध, शरणार्थी समस्या, मानव तस्करी र सीमा असुरक्षा, भविष्यमा सशस्त्र उग्रवादीहरूको उदय, जुन बिचल्ली र बदला भावनाबाट जन्मिन्छन् ।

युद्धको अन्तर्राष्ट्रिय स्वरुप

युद्धको वर्तमान स्वरूप हेर्दा यो अब दुई मुलुकको सानो द्वन्द्वभन्दा बाहिर गइसकेको स्पष्ट छ । अमेरिकी हस्तक्षेपले यसको अन्तर्राष्ट्रिय स्वरूपलाई औपचारिकता दिएको छ । शक्तिशाली राष्ट्रको ‘दादागिरी’ शैलीमा एक पक्षीय हस्तक्षेपले विश्व राजनीतिमा शान्ति, कूटनीति र समन्वयको आधार नै कमजोर पारिदिएको छ । यस युद्धमा सयौं मानिस मारिइसकेका छन्, हजारौं घाइते छन् र लाखौं मानिस विस्थापित भइसकेका छन् । खाद्य संकट, आप्रवासी समस्या र आपूर्ति सञ्जालको ध्वस्तताजस्ता मानवीय संकटहरू अझै बढ्ने निश्चित देखिन्छ । यो द्वन्द्व केवल बारुद, क्षेप्यास्त्र र रणनीतिक मोर्चामा सीमित छैन; यसले सभ्यता र मानवता नै संकटमा पारिदिएको छ । शान्तिकामी विश्व समुदायको नजर अब संयुक्त राष्ट्रसंघ, मुस्लिम राष्ट्रहरू र पश्चिमी शक्तिहरूतर्फ छ, जसले यो आगो निभाउन सकून् । तर, जब उनीहरू आफैं पक्षपाती भूमिकामा छन्, तिनबाट निष्पक्ष हस्तक्षेपको अपेक्षा गर्नु चुनौतीपूर्ण बन्दै गएको छ ।
युद्ध होइन, सहअस्तित्व नै मानवताको भविष्य हो

यस सम्पूर्ण परिदृश्यले हामीलाई एउटा ठूलो सत्य के देखाउँछ भने, जहाँ संवाद, संयमता र रणनीतिक संयोजन हुँदैन, त्यहाँ युद्ध अपरिहार्य हुन्छ । तर युद्धले न त समाधान ल्याउँछ, न स्थायित्व । यसले केवल क्षति, त्रास र अन्योलको खेती गर्छ । इरानले शक्ति प्रदर्शनमार्फत वर्चश्व कायम राख्ने प्रयास ग¥यो; इजरायलले सुरक्षाका नाममा कठोर सैन्य उत्तर दियो; अमेरिका युद्धमार्फत प्रभुत्वको प्रदर्शन गर्दै छ । तर जनताले शान्ति खोजिरहेका छन्, युद्ध होइन । शान्ति नै अहिलेको प्रतिरोध हो । शान्तिको पर्खालले मात्र युद्धको ज्वाला निभाउन सक्छ ।

अब प्रश्न उठ्छ

-के संयुक्त राष्ट्रसंघ, अरब लिग र पश्चिमी राष्ट्रहरूले निष्पक्ष पहल गर्न सक्नेछन् ?

-के नेपालजस्ता साना मुलुकले आवाज उठाउने ठाउँ सुरक्षित रहला ?

-के शक्तिशाली राष्ट्रहरू शान्तिलाई हतियारभन्दा शक्तिशाली प्रमाणित गर्न सक्लान् ?

यदि उत्तर छैन भन्ने आयो भने, युद्धको आगो केवल इरान–इजरायलमा सीमित हुनेछैन । यो आगो मानव सभ्यता नै खरानी बनाउने दिशामा अघि बढिरहेको छ । अन्ततः यो युद्धले इतिहासलाई फेरि स्मरण गराएको छ । विगतमा भएका दुईवटा विश्वयुद्धले जुन पीडा जन्मायो, तेस्रोपटक त्यो कथा नदोहोरियोस् । मानवताको नाममा युद्ध होइन, शान्तिको पक्षमा उभिनु आजको सबैभन्दा सशक्त हस्तक्षेप हो । यो सम्पूर्ण परिदृश्यले यही देखाउँछ, कूटनीति, आन्तरिक सुरक्षा र क्षेत्रीय विश्वासविना केवल भयको आधारमा बनाइएको शक्ति रणनीति दीर्घकालीन रूपमा सफल हुन सक्दैन ।